कोरोनाको कहरका कारण ढिलो गरी सुरु भएको शैक्षिक सत्र जेठमा पूरा गर्न विद्यालयहरुलाई सकस
कोरोनाको कारण गत मंसिरमा ढिलो गरी सुरु भएको शैक्षिक सत्र जेठमा पुरा गर्न विद्यालयहरुलाई सकस हुने भएको छ।
जनस्वास्थ्यका विज्ञहरुले कोरोना भाइरस संक्रमणको दर ओकालो लाग्दै गएमा आगामी जेठमा संक्रमण चरम अवस्थामा पुग्ने आकलन गरेका छन्। यदि कोरोना संक्रमण थप फैलिए तोकिएको समयभन्दा अगाडि विद्यालय तहको परीक्षा गर्नु परे परीक्षा सञ्चालनमा झनै चुनौति थपिने भएको छ।
कोरोना भाइरस संक्रमणको कारण मंसिरमा मात्रै सुरु भएको शैक्षिक सत्रका कारण विद्यालय तहको पठनपाठन तोकिएको समयभित्र सिध्यायन मुस्किल भएको विद्यालयहरुले बताएका छन्।
सरकारले विद्यालय तहको वार्षिक परीक्षा जेठमा सक्न भनेपनि कोरोना सो समयभन्दा अगावै फैलिएर विद्यालय बन्द गर्नुपर्ने अवस्था आएमा भने परीक्षा लिन तयार रहेको बताउँछन् धनगढी नमूना प्राविधिक माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक खगेन्द्रप्रसाद जोशी।
“विद्यालय मंसिरमा मात्रै खुलेपनि हामीले पठनपाठनको गति अलि बढाएको कारण ७५ प्रतिशत पाठ्यक्रम सिध्याएका छौँ। कोरोनाको कारण विद्यालय तहको अन्तिम परीक्षा जेठ अगाडि नै गर्नु परेपनि हामी पढाए जति समेटेर विद्यार्थीको मुल्यांकन गर्न तयार नै छौँ।” सहायक प्रधानाध्यापक जोशीले भने।
विद्यालयमा पाठ्यक्रमको ६५ देखि ७५ प्रतिशत पढाई भएपनि शतप्रतिशत कोर्ष सिध्याउन जेठसम्म समेत कठिन हुने विद्यालयहरुले बताएका छन्।
तथापि कोरोनाको संक्रमणलाई मध्यनजर गरेर सरकारले जेठ अगावै विद्यार्थीहरुको अन्तिम मुल्यांकन गर्न निर्देशन दिए सोही अनुसार अन्तिम परीक्षा बैशाखमै गर्न समेत तयार हुनुपर्ने बताउँछन् राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशराज भट्ट।
“पुरा पाठ्यक्रम समेटेर मुल्यांकन गर्न त कठिन नै हुन्छ तर जहाँसम्म पढाइ भएको छ त्यहाँसम्म मात्रै प्रश्न सोधेर विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन हामी सजग रहेका छौँ।” प्रधानाध्यापक भट्टले भने।
धनगढीका नीजि विद्यालयहरुले पनि सरकारको गरेको निर्णय मान्ने बताएका छन्। कोरोना संक्रमण बढेर अवस्था कठिन भएमा ढिलै विद्यालय खुलेकोले बैशाख अन्तिम अगावै परीक्षा गर्न कठिन हुने बताउछन् एन–प्याब्सन कैलालीका निवर्तमान अध्यक्ष एवं धनगढीको एलाएन्स स्कूलका संस्थापक उपेन्द्र अवस्थी।
स्वास्थ्य अधिकारीहरुले फागुनयता कोरोना दिनप्रतिदिन बढि रहेकोले जेठसम्म आइपुग्दा अवस्था जटिल हुने तर्फ संकेत गरेको र लकडाउन गर्नुपर्ने अवस्था आएमा भने वैकल्पिक उपायको प्रयोग गरी शैक्षिक सत्रको अन्तिम मुल्यांकन गर्न विद्यालयहरुले अर्धवार्षिक परीक्षा या अन्य परीक्षालाई आधार मान्न सकिने बताउँछन् शिक्षा विकास तथा समन्वय इकाइ कैलाललीका शिक्षा अधिकृत प्रतापसिंह धामी।
कोरोनाको कारण निकै ढिलो सुरु भएको चालु वर्षको शैक्षिक सत्र सकिन दुई महिना मात्रै बाँकी रहेको बेला कोरोना संक्रमणको दर बढ्नुले विद्यार्थी, अभिभावक र शिक्षक चिन्तामा रहेका छन्। तर पनि विद्यार्थीको सिकाइ उपलब्धि र मुल्यांकनको मापन गर्न विद्यालयहरुले तयार रहेको बताएका छन्।