धनगढीको वायु प्रदूषण AQI नेपालकै खराब मापन भएपछि चिन्ता, अत्तरियाको हालत पनि उस्तै
धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी र अत्तरिया क्षेत्रमा वायु प्रदूषण विकराल बनेपछि सोमबार धनगढीको वायु प्रदूषण सूचाकांक नेपालकै सबैभन्दा खराब देखिएको छ।
डढेलोका अतिरिक्त सवारी साधन र घरघरमा जल्ने प्लास्टिकको घातक धुवाँ, सडकको धुलोका कारण धनगढीवासीलाई सास फेर्न स्वच्छ हावाको अभाव हुन थालेको छ।
अत्तरिया चोकको धुलोको मुस्लो पार गरेर धनगढी आउने जोकोहीले पनि केही दिनयता धनगढीमा बाक्लो तुवाँलो लागिरहेको देख्न सक्छन्।
चुरे र सुदूरपहाडमा डढेलोका कारण पूरै प्रदेशलाई अहिले धुवाँले ढाकेको देख्न सकिन्छ। यस्तो बेला सोमबार विहान धनगढीको वायु प्रदूषणक सुचकांक थप खराब भएर एक्यूआई ४३२ मापन गरियो। यस्तो प्रदूषित हावा स्वास्थ्यको लागि जोखिमपूर्ण रहेको स्वासप्रस्वास रोग विशेषज्ञ डक्टर पंकज पन्तले बताए।
डक्टर पन्तले भने, “हावा प्रदूषणले जनस्वास्थ्यमा धेरै असर पार्छ। वायु प्रदूषण भएको समयमा विद्यालय बन्द गर्नुपर्छ। अनि दीर्घकालिन दमको समस्या भएकाहरुले बाहिर निस्किनु हुदैन। ५ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिकाले पनि बाहिर निस्किनु भएन। सामान्य मानछेलाई समेत वायु प्रदूषणको अवस्थामा स्वास्थ्य समस्या देखिने हुन्छ।”
प्रदेशकै मुख्य प्रवेशद्वारको रुपमा रहेको अत्तरिया चोक जस्तै धनगढीको चौराह र पुरानो बजारमा पनि धुलो, धुवाँ र तुवाँलो निकै बाक्लो भइरहेको पाइएको छ। अत्तरिया चोकमा ६ लेन सडक जोडिने ठाउँमा कालोपत्रे नभएका कारण धुलोको समस्या विकराल भएको हो।
त्यहाँ चौबिसै घन्टा उड्ने धुलोका कारण निकै सास्ती भोग्नु परेको अत्तरियावासी भोजराज साउँदले दुखेसो गरे।
साउँदले भने, “अतरिया चोकमा खाल्डाखुल्डी समेत छन्। कहिले त गाडी पनि पल्टिने गरेका छन्। चोक भएर आवतजावत गर्दा लुगा फोहर हुने। आँखा पोल्ने समस्या भोग्नु परेको छ।”
प्रदेशका साथै गोदावरी नगरपालिकाको समेत केन्द्र रहेको अत्तरिया चोकको धुलाम्मे सडक मर्मत र निर्माणको जिम्मा सडक विभागको भएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले दिनमा तीन/चार पटक पानी हाल्ने गरेको भएपनि अन्य समाधान भने नभएको गोदावरीका नगर प्रवक्ता शर्मानन्द भट्टले बताए।
नेपालमा लामो समयसम्म पानी नपरेको र प्रदेशभरका अधिकांश वनहरुमा आगलागी भएको कारण यो वर्ष वायु प्रदूषण निकै बढेको बताइएको छ। धनगढीको वायु प्रदूषण मापन गरिने एक्यूआई सोमबार बिहानै ४३२ पुगेपछि चिन्ताहरू अझै बढेकाछन्।
तर अहिले साँझ स्थितिमा केही सुधार भई धनगढीको एक्यूआई १९१ देखिएको छ। एक्यूआई ५० सम्म हुनु राम्रो मानिन्छ तर त्यो १०० नाघेपछि अस्वस्थकर हुन थाल्छ।
एक्यूआई ३ सयभन्दा माथि जानु चाहिँ निकै घातक मानिन्छ। चारैतिर धुवाँ धुलो रहेको र धुवाँ रोकथाम प्रयास शून्य भएकोले मंगलबार बिहान फेरि हावा झन् खराब नहोला भन्ने कुनै आधार छैन।
सम्बन्धित समाचार
धनगढीसहित सुदूरपश्चिमका सहरमा सास फेर्ने हावा झन्-झन् खराब, वायु गुणस्तर सूचकांक AQI लगातार माथि जाँदै
आज धनगढी बन्यो नेपालकै प्रदूषित सहर