मोहनापुल-अत्तरिया ६ लेन सडक नजिकैका बाटोहरुमा निर्माण सामग्री थुपारिँदा आवत–जावतमा सास्ती
मोहना पुल-अत्तरिया ६ लेन सडकसँगै धनगढीका शाखा सडकहरुमा समेत निर्माण सामग्री थुपारिँदा आवत–जावतमा सास्ती हुने गरेको छ।
मोहनापुलदेखि अत्तरियासम्मको ६ लेन सडकमा सवारी साधन पार्किङ हुँदै आएकोमा धनगढीका सोही क्षेत्रमा व्यापारिक प्रयोजनका सामग्री समेत राखिएका छन्।
धनगढीको मुख्य सडकसँगै शाखा सडकहरुमा समेत सवारी साधन र व्यापारिक प्रयोजनका सामग्री राखिएका कारण यात्रु तथा सवारी चालकहरुलाई नै सास्ती हुने गरेको छ। सडक क्षेत्रमा व्याक्तिगत सामग्री राखिएको भएपनि उपमहानगरपालिका भने मुग्दर्शक भएको आरोप स्थानीयको छ। तर उपमहानगरपालिकाले ऐन बनाएकाले सोही अनुसार कारबाही गर्ने दाबी गर्दैछ आएकाे छ।
धनगढीको दक्षिणकाली मार्गमा पार्किङ गरिएका ट्रकका कारण अन्य सवारी ओहोर–दोहोर ठप्प हुँदै आएकाे छ। धनगढीको मुख्य सडक मोहना पुल (अत्तरियासग जोडिने सो सडकको दुबै तिर सवारी राखिएका थिए। दिन प्रति दिन सवारी चाप बढ्दै गएको धनगढीमा सडक क्षेत्रमा राखिने सवारी, निर्माणका सामग्री र व्यापारिक प्रयोजनको सामग्रीका कारण सास्ती भएको धनगढीका स्थानीय हिक्मत रावलले बताए। उनले भने, "धनगढीका सडकहरुमा गाडीहरु छन्। बाटोमै निर्माणका सामाग्रीहरु छन्। तर धनगढी उपमहानगरपलिकाले नदेखे जस्तै गर्छ।"
व्यापारिक क्षेत्र बिस्तार भएसँगै धनगढीका शाखा सडकहरुमा समेत सवारी जाम हुने क्रम बढेको छ। व्यापारीले सडकको गलत प्रयोग गर्दा सवारी जाम हुने गरेको हो। मोहनापुल-अत्तरिया ६ लेन सडकसँगै अन्य शाखा सडकहरुमा समेत सवारी साधन, व्यापारिक परियोजनका सामान राखिएका कारण सवारी जाम हुने गरेको हो।
सडक क्षेत्रमा सवारी साधन, व्यापारिक परियोजनका सामग्री तथा निर्माण सामाग्री थुपारिएका कारण शाखा सडकहरुमा जाम हुने समस्या रहेको छ। ६ लेन सडकमा राखिएका सवारीका कारण दुर्घटनाको जोखिम बढेको रावलले बताए। धनगढीको मुख्य सडक, पुरानो सब्जी मण्डी क्षेत्रका सडकहरु, दक्षिणकाली मार्गका सडकहरु, उत्तरबेहडी, तारानगर तथा हसनपुर क्षेत्रका शाखा सडकहरुमा सवारी जाम हुने गरेको हो।
विद्यालय सञ्चालन भएका दिनहरुमा भित्रि सडकहरुमा सवारी जाम बढी हुने गरेको छ। स्थानीयले सडक क्षेत्रमा राखेका सवारी र निर्माण सामग्रीका कारण बढी सास्ती हुने गरेको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए। उनले उत्त बिषयमा उपमहानगरपलिका कठोर नभएको बताए। प्रवक्ता मुडभरीले भने हामीले सडक कम्जा गर्नेलाई कारबाही गर्न सक्छौ। तर गरेका छैनौ। आग्रह गर्दै आएका छौ। तर मानिरहेको अवस्था छैन।
सडकमा निर्माण सामग्री राख्नका लागि उपमहानगरवासीले उपमहानगपालिकाबाट अनुमति लिनुपर्ने हुन्छ। आर्थिक वर्ष २०७५/०७६ बाट कर संकलन गर्न उपमहानगरपालिकाले सडक क्षेत्रमा सामग्री राख्न स्वीकृति दिएको हो। तर एक जनाले पनि स्वीकृति लिएका छैनन् भने व्यापारीहरुले समेत उप(महानगरपालिकालाई टेरेका छैनन्।