सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका भूगोलविद्को नाममा अमेरिकी विश्वविद्यालयमा कार्यालय

२०७७ चैत्र १३, ०८:४५ खबर संवाददाता

बझाङ- अमेरिकामा बसोबास गर्दै आएका बझाङमा जन्मिका भूगोलविद् तुलसीराम जोशी र उनकी पत्नी मर्लिनको सम्मानमा त्यहाँस्थित फेयरमोन्ट राज्य विश्वविद्यालयले उनीहरूकै नाममा कार्यालय स्थापना गरेको छ। 

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शैक्षिक केन्द्रका रूपमा स्थापित कार्यालयलाई ‘तुलसी र मार्लिन जोशी’ नाम दिइएको फेयरमोन्ट राज्य विश्वविद्यालय र फेयरमोन्ट राज्य कोषद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। जोशी दम्पतीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सघाउन आर्थिक सहयोग गरेबापत उक्त सम्मान दिइएको विश्वविद्यालयले जनाएको छ।

जोशी परिवारको सहयोगले विदेशी विद्यार्थीहरूलाई भर्ना गर्न सघाउ पुग्ने विश्वविद्यालयकी अध्यक्ष मिर्टा एम मार्टिनले बताएकी छन्। ‘तुलसी र मर्लिनले क्याम्पसमा अन्तर्राष्ट्रिय विद्यार्थीको उपस्थिति हुनु कत्तिको महत्त्वपूर्ण हो भनेर बुझ्दछन्,’ उनले भनिन्, ‘फेयरमोन्ट राज्य युनिभर्सिटीमा आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हाम्रो फाल्कन परिवार र हेरचाह गर्ने संकायबाट फाइदा लिनेछन्।’

न्यून आयस्रोत भएका मुलुकका विद्यार्थीले पनि विश्वव्यापी प्रतिस्पर्धा गर्न सकून् भनेर आफूहरूले सहयोग गरेको जोशीले बताए। ‘हाम्रो सहयोगलाई हाम्रै नामबाट विश्वविद्यालयले सम्मानित गरेकोमा धेरै खुसी लागेको छ,’ उनले भने।

जोशी बझाङको छबिसपाथीभेरा गाउँपालिका ४ ब्यासीको तामाखानीमा जन्मिएका हुन्। उनी २०१३ सालमा बझाङकै सत्यवादी स्कुलबाट एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न अमेरिका गएका थिए । त्यसपछि उनले अमेरिकाकै विश्वविद्यालयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका छन्। यसअघि उनले अमेरिकी राष्ट्रपतिबाट प्रेसिडेन्ट भोलेन्टियर पदक र स्टेट गभर्नमेन्ट पदकसमेत पाइसकेका छन्।

उनले नेपालमा पनि विभिन्न विद्यालयलाई १ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोग गरेका छन्। जोशीले बझाङका ३ र कैलालीका २ गरी ५ विद्यालयलाई सहयोग गरेका हुन्।

कान्तीपुरबाट
 

कमेन्ट लोड गर्नुस