सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमान र छोराछोरी छोडेर भारतीयसँ‌ग भागेकी कञ्चनपुरकी भागरथी राना कसरी लाश बनेर फर्किइन्

२०७७ चैत्र १३, ०७:०८ रक्षा भट्ट

धनगढीः कुरा यही चैत्र ६ गते शुक्रबारको हो। कञ्चनपुरको बेलौरी नगरपालिका ४ रिछाहाका मोली राना सधैँझैँ बिहानै ४ बजे उठेर काममा निस्किन्छन्। इटा भट्टामा काम गर्ने उनी महेन्द्रनगर इटा पुर्याउनुपर्ने हुँदा बिहानै निस्किन्छन्। उनकी १२ वर्षीया छोरी प्रिती र ७ वर्षीय छोरा नैतिक राना पनि विद्यालय जानका लागि निस्किन्छन्। स्थानीय महाकाली माध्यमिक विद्यालयमा प्रिती कक्षा ६ र नैतिक कक्षा ४ मा अध्ययनरत छन्। 

के भएको थियो त्यो दिन ?

दिनहुँ बिहान ४ बजे घरबाट गएर साँझ ६ बजे घर फर्कने गरेका मोली त्यो दिन भने अलि चाँडो आएर पसलमा चिया पिउन बस्छन्। साँझतिरको कुरा हो। उनका छोरा नैतिक आमा घरमा नभएको भन्दै बुवा मोलीलाई बोलाउन आउँछन् । छोराले आमा घरमा नभएको बताएपछि मोली पसलबाट घरतिर हिँड्छन्। 

जाँदै गर्दा बुवा बोलाउनकै लागि पसलतिरै आइरहेकी छोरी प्रिती पनि घरमा सामानहरु लथालिङ्ग पारिएको सुनाउँदै आमा घरमा नभएको बताउँछिन्। त्यसपछि मोलीले आफ्नी श्रीमती भागरथी रानालाई गाउँघर यताउति खोज्न थाल्छन्। त्यहाँ कहीँ पनि भागरथी नभेटिएपछि उनले माइती गइन् कि भनेर उनका माइतीलाई सम्पर्क गरी सोध्छन्। तर भागरथीका आमाबुबाले उनी त्यहाँ नआएको खबर सुनाउँछन्। 

घरभित्र नियाल्दा छोरी प्रितीले बाकसभित्रका लुगाहरु निकालेर फालिएको देख्छिन्। “छोरीले भनेपछि जब मैले घरभित्र पसेर हेरेँ, त्यहाँ बाकसबाट लुगाहरु निकालेर फालेको देखेँ। अनि उनका २ तोला सुन र ४ तोला चाँदीका गहनासहित डेढ लाख रुपैयाँ पनि मैले भेटेन। मलाई अचम्म लाग्यो। सम्बन्ध त हाम्रो राम्रो नै थियो। अनि झगडा पनि भएको थिएन। गहना पैसासहित भागरथी कहाँ गएकी होलिन् त म सोचमा डुबेँ,” उनी भन्छन्।

माइती पनि नगएकी भागरथी गहना र पैसासहित आखिर कहाँ गएकी होलिन् भन्ने छट्पटाहटमा मोलीको त्यो रात बित्यो। 

भागरथीसँग देखिएका भनिएका युवक को थिए ?

अर्कोदिन शनिबार ७ गते पनि उनी भागरथीलाई खोज्न थाले। घरमा साइकल नदेखेपछि साइकल र ३÷४ जोडी लुगा झोलामा बोकेर श्रीमती कहीँ गइन् भन्ने उनलाई लाग्यो। साइकल भने उनले भागरथीको माइती घरमा भेटाए। तर माइती पक्षले साइकल त्यहाँ ल्याएर कसले कतिबेला राख्यो थाहै नपाएको बताए। 

पछि केही गाउँलेहरुले शुक्रबार दिउँसो करीब २ बजेतिरको समयमा उनकी श्रीमती एकजना भारतीय नागरिकसँग जाँदै गरेको देखेको बताए। भारतको गोविन्दनगरका विक्रम कुमार नाम गरेका ती युवक पनि बेलौरीकै एक इटा भट्टामा काम गर्ने गर्दथे। 

मोली भन्छन् –“म बाहेक मेरी श्रीमती, केही छिमेकी अनि भागरथीका माइतीले ती व्यक्तिलाई चिन्दा रहेछन्। म पनि इटा भट्टामै काम गर्ने भएको हुँदा ती व्यक्तिमो नाम त सुनेको थिए। तर अनुहारले चिन्दैन। किनकी हामी काम गर्ने ठाउँ फरक–फरक हो।” शनिबारको दिन पनि यत्तिकैमा बितेपछि आइतबार इलाका प्रहरी कार्यालय बेलौरीमा श्रीमती हराएकी भन्दै निवेदन दिएको उनी बताउँछन्। 

त्यसपछि भागरथीका माइतीसहित उनीहरु भारतमै उनको खोजी गर्न थाल्छन्। उनीहरुले भारतको खजुरिया र सम्पूर्णनगरको प्रहरीलाई पनि यसबारे जानकारी गराउँछन्। सम्पूर्णानगर प्रहरीले उनीहरुलाई हैदरावाद जान सुझाव दिन्छ। तर माइती पक्षले ती युवकलाई चिनेका हुँदा आफै खोज्न निस्किन्छन्। 

लखिमपुरमा भेटियो भागरथीको शव !

मङ्गलबार १० गतेका दिन लखिमपुरमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ भन्ने खबर पाएपछि भागरथीका माइती त्यहाँ पुग्छन्। उनीहरु त्यो शव आफ्नी छोरी भागरथीकै भएको भनी पहिचान गरी फोटो खिचेर ल्याएर घर फर्किएको मोली बताउँछन्। 

११ गते बुधबारका दिन शवको पोस्टमार्टम हुन्छ। यताबाट मोली केही छिमेकी, आफन्त र भागरथीका माइतीका साथमा घटनास्थल लखिमपुर पुग्छन्। उनीहरु त्यहाँ पुग्दा भागरथीको शव पोस्टमार्टम गरेर एम्बुलेन्समा राखिएको हुन्छ ।मोली भन्छन् “हामीले यसरी शव बुझ्दैनौँ, दोषीलाई कारवाही हुनुपर्छ भनेर भन्यौँ । अनि पोस्टमार्टम रिपोर्ट पनि दिन भन्यौँ तर रिपोर्ट दिनलाई पैसा देउ, तुरुन्तै लैजाउ भन्ने कुरा गरे । म पैसा दिन राजी हुँदा उनीहरुले आज रिपोर्ट आको छैन, अर्को दिन आउ भने।” 

उनी आफूहरुलाई जबरजस्ति शव बुझ्न लगाएको बताउँछन्। “भारतमा शव छोड्न पनि नसकिने, घर ल्याएर आयौँ” उनले भने। 

बिहीबार भागरथीको अन्त्येष्टि गरियो, के भन्छ नेपाल प्रहरी ?

हिजो १२ गते बिहीबार भागरथीको अन्त्येष्टि पनि गरिसकिएको छ। आज शुक्रबार फेरी पनि मोली राना श्रीमतीको पोस्टमार्टम रिपोर्ट लिन भारत गइरहेको बताइरहेका थिए। मोलीका अनुसार विक्रम कुमारलाई त्यहाँको प्रहरीले नियन्त्रणमा त लियो। तर एकै रातमा छोडिदियो। मोली बिक्रमले यो घटना आफूले नै घटाएको स्वीकार गरेको पनि दाबी गर्छन्। 

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापा भने घटना भारतमा भएको हुँदा आफूहरुले समन्वयात्मक भूमिका मात्र निर्वाह गर्नसक्ने बताउँछन्। घटनाको छानबिन तथा अनुसन्धान भारतकै प्रहरीले नै गर्ने उनी बताउँछन्। 

मोली भन्छन्, “हाँसीखुसी रमाइलोसँग बितिरहेको हाम्रो सानो परिवार आज तहसनहस भएको छ।”

कञ्चनपुरकी युवती भारतमा मृत फेला
 

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस