सेती अस्पतालको सेवाः रगतको नमुना ५ पटक झिकियो, रिपोर्ट फरक–फरक, बिरामीलाई क्लिनिकतिर पठाइन्छ
धनगढीः शरीर दुख्ने समस्या देखिएपछि धनगढी उप–महानगरपालिका वडा नम्बर १० की आरती चौधरी गत आइतबार बिहान सेती प्रादेशिक अस्पताल आइन्।
उनी बिहान ९ बजे नै अस्पताल पुगेर टिकट काट्न लाइनमा बसिन्। २० रुपैयाँ तिरेर उनले १० बजेर ५० मिनेटमा प्रादेशिक अस्पतालको सेवा लिन टिकट पाइन। टिकटमा ओपीडीको २ नम्बर कोठामा जान लेखिदिएको थियो। लाइनमै बसेर चिकित्सकसँग स्वास्थ्य परीक्षण गराएकी उनलाई पुनः ४ प्रकारका परीक्षण गर्न सुझाव दिएपछि टिकट घर पुगिन्। १ हजार ५९० रुपैँया तिरर उनले ४ प्रकारका परीक्षणका लागि रगतको नमुना दिइन्। तर सेती अस्पतालको प्रयोगशालाले सबै रिपोर्ट दिएन।
उनी आइतबार दिनभरी सेती प्रादेशिक अस्पालमै बसिन्। तर रिपोर्ट आएन्, दोस्रो दिन आउन भनियो, उनी आइन््। ४ दिन दैनिक सेती प्रादेशिक अस्पताल आएपनि उनले रिपोर्ट पाउन सकिनन्। शरीर दुखेकाले सिकलसेल एनिमियाको समेत परीक्षण गर्न भनिएको थियो।
रगतको ग्रुपको समेत २ वटा फरक–फरक रिपोर्ट दिएको प्रयोगशालाले बुधबार सिकलसेल परीक्षणका लागि किट नभएको भन्दै उनलाई अस्पतालले फर्कायो। ४ दिनको अवधिमा उनको ५ पटक रगतको नमुना झिकिएको छ।
सेती प्रादेशिक अस्पतालको सेवाप्रति आक्रोश हुँदै भनिन्, “विरामी उपचार हुने ठाउँ हो कि, दुःख दिने ठाउँ। आज आउँदा भोलि आउनु भन्दा भन्दै ४ दिन भयो।”
उनी जस्तै धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा सी गाउँका करन बिकले पनि सेती प्रादेशिक अस्पतालमा बुधबार सास्ती पाए। गोरुगाडाबाट खसेर घाइते भएका करनले श्रीमती पटु बिकसँगै अस्पताल आएका थिए। उनको छाती दुखिरहेको थियो। भने हातको औंलामा चोट लागेको थियो। ओपीडीको १ नम्बर कोठामा जान भनेपछि उनी गए। चिकित्सकले एक्सरे गर्न भनेपछि उनले गराए। एक्सरे गर्ने ठाउँमा उनलाई बाहिर मेडिकलमा जान भनियो। साथै जाँचको लागि ओपीडीमा जान भनिएन।
धनगढी उप–महानगरपालिका वडा नम्बर १ का हरि बिक सेती प्रादेशिक अस्पतालको फार्मेसीको सेवाप्रति दिक्दार छन््। स्वास्थ्य बीमा समेत गरेका उनले बढी मूल्यको औषाधी सेतीको फार्मेसीमा नपाएको दुखेसो सुनाए।
यी केही प्रतिनिधिमूलक उदाहरण मात्रै हो, ३० लाख सुदूरपश्चिमेलीको स्वास्थ्य सेती प्रादेशिक अस्पतालसँग गाँसिएको छ। तर यहाँको स्वास्थ्य सेवाको गुणस्तर खस्किँदै गएको हो। जसबारे अस्पताल प्रशासन बेखबर बनेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले अस्पतालको प्रयोगशालाको सेवासहित अन्य सेवाबारे जानकारी लिने बताए।