अत्तरियामा चैत २१ गतेदेखि सुदूरपश्चिम राजधानी कप हुने
धनगढीः कैलालीको अत्तरियामा सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको छ।
पीएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा चैत २१ गतेदेखि २८ गतेसम्म दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको हो।
आयोजक पीएफए स्पोर्टस् क्लबले बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो प्रतियोगिताका बारेमा जानकारी दिएको छ। नकआउट चरणको आधारमा हुने प्रतियोगिताको विजेता टिमले नगद ४ लाखसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले नगद २ लाखसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक पीएफए स्पोर्टस् क्लबका अध्यक्ष योगेश भट्टको जानकारी दिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, राईजिङ प्लियर, बेष्ट डिफेन्सलाई समान १० हजार रूपैया प्रदान गरिने छ। यसका साथै प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट हुने एक जना खेलाडीलाई नगद २ हजार प्रदान गरिने छ।
गोदावरी नगरपालिका ३ मा रहेको मालिका खेल मैदानमा हुने प्रतियोगितामा १६ ओटा टिमको सहभागिता रहने अध्यक्ष भट्टले बताए।
सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियामा फुटबलको चहलपहल बढाउने, यहाँका खेलाडीहरुलाई फुटबल खेलतिर उत्प्रेरित गराउने र सुदूरपश्चिमलाई खेलकुदको पर्यटनको माध्यमवाट चिनाउने उद्देश्यसहित सो प्रतियोगिता संचालन गर्न लागिएको राजधानी कपका खेल सञ्योजक शिवराज भट्टराईले जानकारी दिए।
यस प्रतियोगिता सुदूरपश्चिमकै शानको रुपमा अगाडी बढाउदै स्थानिय स्तरका उदयमान खेलाडीहरुलाई परिचित गरि स्थापित हुने वातावरण मिलाउने लक्ष्य रहेको सञ्योजक भट्टराईले बताए।
पीएफए स्पोर्टस् क्लबका अध्यक्ष योगेश भट्टको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशी प्रमुख अतिथी रहेका थिए भने, अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा बिशिष्ट अतिथी रहेका थिए।
प्रमुख अतिथि वडा अध्यक्ष जोशीले प्रतियोगिताको सफलताको शुभकामना दिदै प्रतियोगिता संचालनका लागि नगरपालिकावाट आफुले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
पीएफए स्पोर्टस् क्लबले यस अघि पहिलो संस्करण भब्य रुपमा सम्पन्न गरेको थियो।