डडेल्धुराका विद्यालयमा योग विज्ञान शिविर
डडेल्धुरा: पतंजली योग समिति नेपाल डडेल्धुराले जिल्लाका विभिन्न विद्यालयमा योग विज्ञान शिविर आयोजना गरिरहेको छ। जसअन्तरगत सदरमुकामस्थित माउन्टेन ईङ्गलीस मिडियम बोर्डिङ स्कुलमा ५ दिने योग विज्ञान शिविर आयोजना भएको छ।
‘गरौं योग, रहौं निरोग भन्ने’ मूल नाराका साथ योग समिति नेपाल डडेल्धुरा र अमरगढी नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको ५ दिने शिविरमा प्रमुख अथितिको रुपमा पतंजली योगपीठ नेपालका प्रमुख साध्वी देव आदिती रहेका थिए।
शिविरमा योगाभ्यास, प्रणायाम अभ्यासहरु मानव जीवनका लागि आवश्यक रहेको उनले बताएका छन्। विद्यार्थीहरुका लागि योग जीवनोपयोगी रहेको उनको भनाइ थियोे। उनले स्वस्थ्य युवाद्वारा नै स्वास्थ्य नेपाल बन्ने भन्दै योग अतिआवश्यक रहेको बताए।
यस्तै योग शिविरमा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका सभापति कर्णबहादुर मल्लले योग र आर्युवेदप्रति सबैले ध्यान दिनसके जीवनशैली सहज हुने बताए।
कार्यक्रममा बोल्दै माउन्टेन इङ्गलिस मिडियम बोर्डिङ स्कुलका प्राचार्य महेश महराले विद्यार्थीहरुको शरिरिका र मानसिक रुपमा तन्दरुस्त बनाउन योग नियमित गरिनुपर्ने बताएका छन्।
विद्यालयमा अध्ययरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई सत्संग प्रवचनका माध्यमबाट जनचेतनामूलक सत्संग विशेष प्रशिक्षण पनि दिइएको योग प्रशिक्षक तथा पतंजली योग समिति सुदूरपश्चिम प्रदेश सहप्रभारी गोबिन्द खडायतले बताए।
उनले सोमबार नै सदरमुकामको महेन्द्र माध्यमिक विद्यालयका करिब ५ सय विद्यार्थीलाई योगका बारेमा प्रशिक्षण दिएको बताए। साथै आगामी दिनमा जिल्लाका अन्य विद्यालयहरुमा समेत योग विज्ञान शिविर आयोजना गरिने सहप्रभारी गोबिन्द खडायतले बताए।