कैलालीको गोदावरी नगरपालिकामा एडीबीको सहयोगमा निर्माणाधिन ‘नागबेली नाली’
धनगढीः एसियाली विकास बैंकको ऋण सहयोगमा बनिरहेका अधिकांश सडक तथा नालीहरु तोकिएका मापदण्ड भन्दा पनि सडक छेउका जग्गा धनीको इच्छा अनुसार बनिरहेको पाइएको छ।
जुन कारण फराकिलो बन्ने सडक साँघुरो भएका छन्, सिधा बन्ने सडक नालीहरु बांगा टिंगा बन्न थालेका हुन्। जसको एक उदाहरण हो, कैलालीको गोदावरी नगरपालिका ५ गेटामा निर्माणाधिन सडक नाली।
गेटा आँखा अस्पतालदेखि जोनापुरसम्मको ५ दशमलव ५ किलोमिटर सडकको नालीको निर्माण कार्य जारी छ। जुन नाली बाँगा–टिङ्गा निर्माण भइरहेको पाइएको हो। जसप्रति कुनै पनि सरोकारवाला निकायको ध्यान नगएको पाइएको छ। तर भौगोलिक बनावट अनुसार निर्माण भइरहेको गोदावरी नगरपालिकाले जिकिर गरेको छ।
गोदावरी नगपालिकामा १६ दशमलव ५२ किलोमिटर सडक बन्ने भएको छ। तर गेटा आँखा अस्पताल क्षेत्रमा मात्रै निर्माण अगाडि बढाइएको हो।
नगरपालिकाका इन्जिनीयर सरोज रोकायाले निर्माण कम्पनीले एक सडकमा मात्र काम थालेको बताए। उनले भने, “निर्माण कम्पनीले काम थालेको छ। तर एक सडकमा मात्र काम हुँदैछ। अन्य सडकमा सुरु भएको छैन्। २ वर्षको लागि ठेक्का दिइएको हो। उहाँहरुले ढिलाइ गरिरहनु भएको छ।”
यता निर्माण कम्पनीले भने सडकमा पर्ने भौतिक संरचना खाली नभएको बताएको छ। नगरपालिकाले भौतिक संचना खाली गर्न नसकेका कारण काममा थप ढिलाइ भइरहेको जिकिर निर्माण कम्पनीको छ। सडक निर्माणको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश चन्द्र खरेलले भने, “हामीले काम थालेका छौ। तर क्षेत्राधिकार खाली भएको छैन्। अन्य सडकमा पनि काम सुरु गर्ने योजनामा छौ।”
नगरपालिका क्षेत्रमा ५ दशमलव ५ किलोमिटरको गेटा आँखा अस्पताल–जोनापुर सडक, १ दशमलव ६ किलोमिटरको लालपुर–गौडी सडक, ५ दशमलव ३२ किलोमिटरको गेटा–लालपुर सडक, १ दशमलव ९१ किलोमिटरको चौकीडाँडा–चक्लाखेत सडक, १ दशमलव ७६ किलोमिटरको कथ्था उ्रद्योग–जोनापुर सडक र शुन्य शदमलव ४३ किलोमिटरको सिर्जनानगर सडकमा अहिले नालीसहित निर्माणको काम चलिरहेको छ।
क्षेत्रीय सहरी विकास आयोजनामार्फत ५५ करोड बढीमा १६ दशमलव ५२ किलोमिटर सडक नालीसहित निर्माणका लागि गत साउनमा कालिका कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो।
गोदावरी नगरपालिकासँग जोडिएको धनगढी उपमहानगरपालिकामा पनि एडीबीकै सहयोगमा अधिकांश सडक बनिरहेका छन्। धनगढीमा पनि सडक नालीहरु सडक छेउका जग्गा धनीको इच्छा अनुसार बनिरहेको पाइएको हो। धनगढीको शहीद गेट–क्याम्पस रोड सडक खण्डमा सम्बन्धित निकायले अतिक्रमित क्षेत्र खाली गराउँन नसक्दा सडक संरचनाहरु मापदण्ड विपरित बन्न थालेका छन्।