सुदूर नेपाललाई विश्वसँग जोड्दै

६५ घरधुरी मिलेर टिमुरखेती

२०७७ चैत्र ७, ०२:४४ रासस

तनहुँ: आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिक रुपमा टिमुरखेती गर्दै आएका छन् । 

स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन् । थोरै लगानी र मेहनतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिस टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताए । 

घरवास सञ्चालन गरेर पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाउँदै आएको हिलेखर्कवासीले पछिल्लो समय टिमुरखेतीलाई पनि सँगसँगै लैजान थालेको उनले जानकारी दिए । सुरुमा २५ जना मिलेर समूह गठन गरेर टिमुरखेतीको सुरुआत गरिएको थियो तर अहिले यस खेतीतर्फ किसानको आर्कषण बढ्दै गएको छ । 

तीन/चार वर्षअघि केही व्यक्तिले थोरैथोरै टिमुरको खेती गरेपनि अघिल्लो वर्षदेखि व्यावसायिकरुपमा नै खेती गर्न थालेका छन् । डिभिजन वन कार्यालयको सहकार्यमा बनेपाबाट दमौलीसम्म बिरुवा ल्याउने कार्य भएपनि दमौलीबाट गाउँसम्म कृषक समूहले नै बिरुवा ढुवानी गरेर लगाएका हुन् ।  

उक्त बिरुवा डाबर नेपाल बनेपाबाट बिरुवा ल्याएर प्रत्येक घरधुरीले मिलेर टिमुरखेती गरको छ । अध्यक्ष गुरुङले भने, “सबै घरधुरीले कम्तीमा दुई सय/तीन सय बिरुवा लगाएका छन् ।” टिमुरखेती नेपालका पहाड, तराई र हिमाल सबै क्षेत्रमा गर्न सकिने बताइएको छ । विशेषगरी समुन्द्री सतहबाट एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइ टिमुरखेतीका लागि उत्तम स्थल मानिन्छ । 

बिरुवा लगाएको चार वर्षपछि फल्न सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि स्थानीयवासी यस खेतीतर्फ सक्रिय भएर लाग्न थालेका छन् । उनीहरुले लगाएको यो दोस्रो वर्ष लागेको छ । रुखो जग्गा जमीन तथा वनमा समेत टिमुरखेती सजिलै गर्न सकिने र धेरै मेहनत गर्नु नपर्ने तथा थोरै लगानीमा पनि गर्न सकिने भएपछि स्थानीयवासीले अभियानकैरुपमा टिमुरखेती थालेका छन् । 

स्थानीय जीतबहादुर गुरुङले मात्रै एक हजार ५०० टिमुरका बिरुवा लगाएका छन् । खेती गर्न सजिलो हुने र आम्दानी पनि राम्रो हुने देखेपछि यसतर्फ लागेको उनले जानकारी दिए । टिमुरका बिरुवा बाहिर किन्दा १०० देखि १५० सम्म पर्ने भएपनि समूहमार्फत ल्याउँदा प्रतिबिरुवा ४० परेकाले शुपथ मूल्यमा पाएको उक्त कृषक समूहले जनाएको छ ।

बिरुवाका लागि जडीबुटी विकास कार्यक्रममार्फत आठ लाख ५० हजार विनियोजन भएपछि डिभिजन वन कार्यालयसँग समन्वय गरी बिरुवा खरीद गरेर लगाइएको समूहका कोषाध्यक्ष गिनेन्द्रबहादुर गुरुङले जानकारी दिए । यसरी टिमुरखेती गर्ने लहर बढ्न थालेपछि सोही वडास्थित ज्यामिरे, ढिडेगाउँ, ढापस्वाँरा, सिरानखोलालगायतका बासिन्दासमेत टिमुरखेतीतर्फ आकर्षित भएका छन् ।

कमेन्ट लोड गर्नुस