सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जीप दुर्घटनाः ३ जनालाई धनगढी, १ जनालाई नेपालगञ्ज रेफर

२०७७ चैत्र ७, ०६:११ खबर संवाददाता

धनगढीः डडेल्धुरामा जीप दुर्घटना हुँदा घाइते भएकाहरुलाई धनगढी र नेपालगञ्ज रेफर गरिएको छ।

जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ३ मा सु.प.प्र ०१–००१ ज ११६५ नम्बरको जीप शुक्रबार बेलुका दुर्घटना हुँदा ५ जना घाइते भएका थिए। घाइते मध्ये ४ जनालाई थप उपचारको लागि धनगढी र नेपालगञ्ज रेफर गरिएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दका अनुसार टाउकोलगायत भागमा चोट लागेर घाइते भएका अजयमेरु गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षिय राजेन्द्र पाण्डे, ३० वर्षीया सीता पाण्डे, २२ वर्षीया जयन्ती पाण्डे र ५२ वर्षिय बलबहादुर पाण्डेलाई धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको हो।

तर ढाडमा पनि समस्या भएकी जयन्ती पाण्डेलाई धनगढीबाट थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको माया मेट्रो अस्पतालका अहेब टेकबहादुर माझीले बताए। त्यस्तै, सामान्य घाइते भएका बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ३ का ३६ वर्षिय खेमराज भट्टको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डडेल्धुरा सदरमुकामदेखि अजयमेरु जाँदै गरेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस