कोरोना त्रास कम भएपछि डडेल्धुरामा भाइरल ज्वरोका विरामी बढे
डडेल्धुरा: डडेल्धुराका स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका विरामीको चाप बढेको छ।
गत वर्ष कोरोना भाइरसको संक्रमणको त्रासका कारण मानिसहरुले सरसफाईका साथै अन्य स्वास्थ्यका मापदण्ड अपनाउँदा भाइरल ज्वरोको संक्रमण देखिएको थिएन। तर यस वर्ष स्वास्थ्यमा ध्यान नदिँदा मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोका विरामी बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
केही दिनदेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित पेट दुख्ने विरामीको चाप बढेको छ।
डडेल्धुरा अस्पताल लगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकी विरामीको चाप ह्वात्तै बढेको हो। दैनिक १ सय विरामीसम्म आउने डडेल्धुरा अस्पतालमा आजभोलि डेढ सय बढी विरामी आउने गरेको डडेल्धुरा अस्पतालका निमित्त मेसु जगदिश चन्द्र बिष्टले बताए।
‘गत वर्ष यो समयमा भाइरल ज्वरोका विरामी शुन्य अवस्थामा रहेका थिए। यो वर्ष भने विगतका वर्ष जस्तै भाइरल ज्वरोका विरामीको चाप बढेको छ’ उनले भने, ‘गत वर्ष कोरोना भाइरसको सन्त्रासका कारण मानिसहरुले सरसफाई र स्वास्थ्यमा ध्यान दिएको भएपनि यो वर्ष कोरोनाको त्रास कम भएसंगै मानिसले सरसफाई र स्वास्थ्यमा लापरवाही गर्दा भाइरल ज्वरोका विरामीको चाप बढेको छ।’
उनले भाइरल ज्वरोको संक्रमण बढेकाले सरसफाईमा ध्यान दिनुका साथै अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्।