डोटीको आदर्श गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अनलाइनबाट
डोटी: पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकाले व्यक्तिगत घटना अनलाइनबाट दर्ता कार्य सुरु गरेको छ ।
गाउँपालिकामा रहेका सातवटा वडामध्ये वडा नम्बर २ र ३ मा नियमितरुपमा अनलाइन जडान गरी व्यक्तिगत घटना दर्ता सुरु गर्ने अभियानको सुुरुआत गरेको हो । जन्म, मृत्यु, विवाह, बसाइँ सराइ तथा सम्बन्ध विच्छेदका घटनालाई ‘भर्स एमआइएस सिस्टम’ मा दर्ता गरी डिजिटल प्रमाणपत्र वितरण गर्न लागिएको आदर्श गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताए।
उनले भने, “मानिसको जीवनमा घटने दैनिकजसो घटनालाई हामीले अब अनलाइन सिष्टमबाट दर्ता गर्न सुरु गरेका छौँ, जसले गर्दा नागरिकलाई निकै राहत हुने छ ।”गाउँपालिकाले व्यक्तिगत घटना प्रमाणपत्र वितरण गर्न आगामी दिनमा पालिकाका सबै वडामा अनलाइन सेवा सुरु गर्नेे जनाएको छ ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई सरल, सहज र व्यवस्थित बनाउन पुराना सबै घटना दर्ता किताब (ढड्डाहरु) डिजिटलाइजेशन भइसकेको र अब अनलाइन सिस्टमबाट दर्ता गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरतबहादुर परियारले जानकारी दिए ।
सरकारबाट पाइने महत्वपूर्ण सेवा सुविधा सामाजिक सुरक्षा भत्तामा कोही नछुटून र कोही नदोहोरिऊन भन्ने मूल मर्मलाई आत्मसात् गर्दै सामाजिक सुरक्षालाई पारदर्शी र चुहावटरहित बनाउन सामाजिक सुरक्षा भत्तालाई आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकदेखि अनिवार्य बैठकबाट भत्ता वितरण गर्ने गरी बैंकसँग सम्झौता कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।
यसैगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना कार्यक्रमको सन् २०२४ सम्म व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत पु¥याउने लक्ष्यलाई सफल पार्न गाउँपालिकाले केही दिनभित्रमै सबै वडामा दर्ता शिविर सञ्चालन गर्ने गृहकार्य सुरु गरिसकेको आदर्श गाउँपालिकाका अपरेटर गीताकुमारी कठायतले जानकारी बताइन् ।