सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘६ लेनमै उभिएको १३२ केभी विद्युत प्रसारण टावरले झस्काउँछ’

२०७७ फाल्गुन २८, ०१:३९ कमल सावद

धनगढीः कैलालीको अत्तरियाबाट धनगढीतर्फ गुड्ने सबै सवारी चालक ६ लेन सडममै रहेको विद्युत प्रसारण लाइनको टावर देखेर झस्किने गर्छन्। छेउमा टावर र साँघुरिएको सडकका कारणले जो कोही चालकलाई झस्काउँछ।

टावर नजिकैको सब स्टेशनभित्र वा अन्य ठाउँ सारिदिए सडक सुरक्षित हुने बताइन्छ। तर त्यो काम कहिले हुने हो, त्यो अझै अन्योलमै छ। मोहनापुल–अत्तरिया सडक योजनाका प्रमुख युवराज पोखरेल पनि १ सय ३२ केभी विद्युत प्रसारण लाइन टावरले ६ लेन सडकमा जोखिम बढाएको स्वीकार गर्छन्।

उनले भने, “विद्युतको पोलका कारण काम गर्न समेत पाएका छैनौ। अन्य ठाउँमा सडक चौडा छ। त्यो ठाउँमा साँघुरो छ। दुर्घटनाको जोखिम पनि छ।”
कैलालीको अत्तरियामा ६ लेन सडकमै ठडिएको १ सय ३२ केभी विद्युत प्रसारण लाइनको टावर सार्न ढिलाइ हुँदा दुर्घटनाको जोखिम हट्न नसकेको हो। 

नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच आवश्यक समन्वय हुन नसक्दा ६ लेन सडकमा रहेको टावर सारिएको छैन। गत असारमा १ लाख ३२ केभी क्षमताको प्रसारण लाइनको टावर सार्नका लागि विस्तृत योजना प्रतिवेदन बनाइएको थियो। तर विद्युत प्राधिकरणले सडक विभागले टावर सार्नका लागि आवश्यक रकम दिनुपर्ने माग गरेपछि काम रोकिएको हो। 

मोहना–अत्तरिया ६ लेन सडक योजना कार्यालयले भने ६ लेन सडकमा ठड्याइएको टावर हटाउने जिम्मेवारी प्राधिकरणकै भएको बताएको छ। सडक योजना कार्यालयका प्रमुख पोखरेलले भने, “उहाँहरुले विद्युतको टावरका लागि आवश्यक रकमसहितको डीपीआर दिनु भएको थियो। हामीले विभागमा पठायौ। तर विद्युतले विभागसँग अनुमति पनि नलिएकाले उहाँहरुले नै खर्च गर्नुपर्छ। हामीले पत्र पठाएका छौ।”

नेपाल विद्युत प्राधिकरणले गत असार ९ गते सो टावर सार्नका लागि विस्तृत योजना प्रतिवेदन सडक योजना कार्यालयमा बुझाएको थियो। ३ करोड १४ लाखको विस्तृत योजना प्रतिवेदन तयार पार्दै योजना कार्यालयसँग रकम मागिएको थियो। तर सडक सञ्चालन भएपछि अनुमति बिना टावर निर्माण गरिएको भन्दै विद्युत प्राधिकरण आफैँले सार्नुपर्ने योजना कार्यालयको धारणा छ।

तर नेपाल विद्युत प्राधिकरण अत्तरियाका प्रमुख जगदिश जोशीले टावर सार्दा लाग्ने खर्च सडकले तिर्नु पर्ने जिकिर गर्छन्। उनले भने, “सडकका कारण विद्युतको पोल सर्नु पर्ने देखिएको हो। हामीले डीपीआर सडक विभागमा बुझाएका छौ। उहाँहरुले रकम दिएपछि मात्र टावर सारिन्छ।”

२ वर्षमा निर्माण पूरा गर्ने भन्दै २०७४ जेठमा सम्झौता गरिएको मोहनापुल–अत्तरिया ६ लेन सडकको भौतिक प्रगति ९० प्रतिशत तथा वित्तीय प्रगति ८५ प्रतिशत पुगेको योजना कार्यालयले बताएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकका लागि अत्तरियादेखि ९ दशमलव ५० किलोमिटर सडकको १ अर्ब १० करोड ४७ लाखमा लुम्बिनी–राजेन्द्र–डाँफे जेभीले ठेक्का पाएको छ भने बाँकी मोहनाको जिरो प्वाइन्टसम्म नागार्जुज निर्माण कम्पनीले ५१ करोड ७० लाखमा सडक निर्माणको काम गर्दै छ।
तर सडक क्षेत्रमा पर्ने टावर सर्ने विषयमा चर्किएको विवाद हल हुन बाँकी नै छ। 

मोहनादेखि अत्तरियासम्म १४ दशमलव २ किलोमिटर ६ लेनको सडक निर्माणको अन्तिम चरणमा पुगेको हो। आगामी असारसम्म सडक निर्माण पूर्ण हुने बताइएको छ। तर सडकमा पर्ने विद्युतको टावर र तीन पुल निर्माणबारेको अन्योल हटिसकेको छैन। अत्तरियाबाट धनगढी गुड्ने चालक तथा यात्रुका लागि भने त्यही प्रसारण लाइनको टावर डरको प्रमुख कारण बनिरहने क्रम जारी छ। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस