तेजाब खन्याएर भतिजाको हत्या
अछाममा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका ४ मा ६ महिने बालकको तेजाब खन्याएर उनकै काकीले हत्या गरेको आरोप लागेको हो। स्थानीय गङ्गा बयक र महाबीर बयकका छोरा मुस्कानलाई उनकै काकी जानकी बयकलाई हत्या गरेको आरोप लगाइएको हो।
असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएका बेला तेजाब खन्याएर घाइते भएका बालकलाई तत्काल स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएपनि जिल्लामा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बुधबार बालकको बर्दिया राष्ट्रिय निकुञ्जमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।
मृतक बालकका बुबा महावीरले आफ्नै भाइबुहारी जानकी विरुद्ध तेजाब खन्याइ कर्तव्य ज्यान गरेको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि निजलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आरोपित महिलाले हत्या गरेको स्वीकार गरेको भएपनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए।