सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैदेशिक रोजगारी छाडेर च्याउ खेतीमा

२०७७ फाल्गुन १९, ०१:२४ रासस

गण्डकी: रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका अवस्थामा यहाँका एक युवा भने व्यावसायिक च्याउ खेती गर्दै अरुका लागि पनि अनुकरणीय बनेका छन् ।

पर्वतको फलेवास नगरपालिका–९ भङ्गरका ४० वर्षीय कृष्णप्रसाद सुवेदी डेढदशक अघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । वैदेशिक रोजगारीले उनलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ बटुल्दै फर्केका सुवेदी त्यसपछि भने कहिल्यै विदेश गएनन् । त्यसपछि च्याउ खेतीमा लागेका सुवेदी हाल दाजुभाइ च्याउ फर्म सञ्चालन गर्दै यसको व्यावसायिक खेतीमा निरन्तर लागेका छन् । 

“मलेसियाबाट फर्के लगत्तै पोखराको मझेरी पाटनमा दुई रोपनी जग्गा लिएर शुरु गरेको च्याउ खेतीले अन्ततः मलाई यसको व्यावसायिक खेतीतर्फ आकिर्षत ग¥यो”, उनले भने, “त्यस यताको १५ वर्षे समयावधिमध्ये विभिन्न स्थानका साथै पछिल्ला छ वर्षको समय पोखरा महानगरपालिका–१९ चितेपानीमा च्याउखेती गरेँ ।” यस वर्षदेखि पोखरा महानगरपालिका–३३ बागमारास्थित महाकाली चोकमा च्याउ खेती सुरु गरेको उनले बताए ।

व्यावसायिक च्याउ खेतीमा राम्रो सम्भावना भएर नै आफूले डेढदशक यसैमा समय बिताएको अनुभव सुनाउँदै उनले कोरोना महामारीभन्दा अघिसम्म यस व्यवसायबाट मासिक दुई लाखसम्म आम्दानी हुने गरेको बताए । “कोरोना सुरु हुनुभन्दा अघिसम्म मासिक दुई लाखसम्म आम्दानी हुने गरेपनि कोरोना महामारीका कारण त्यसयता हालसम्म नै मासिक दुई लाखकै हाराहारीमा घाटा व्यहोर्दै आएको छु”, उनले भने, “आगामी दिनमा कोरोना महामारीको प्रभाव कम हुँदै व्यवसाय पूर्ववत् रुपमा फर्कने आशा गरेको छु ।”

कोरोना महामारीका कारण बीचमा भएको लकडाउनका कारण च्याउ खेतीका लागि आवश्यक पर्ने सामान ढुवानीलगायतमा समस्या झेल्नु परेको उनले सुनाए । बन्दाबन्दी पहिला च्याउ खेतीका लागि आवश्यक पर्ने पराल प्रति ट्रक ५० हजारमा पाइने गरेकोमा अहिले भने एक लाख पर्ने गरेको उनले जानकारी दिए । 

ट्रकमा पराल ढुवानीका क्रममा बाहिर निस्केमा सडक सुरक्षा जाँचका क्रममा जरिवाना तिर्नुपर्ने लगायतका झन्झटका कारण गाडीवाला पराल बोक्न गा¥हो मान्ने गरेको र ढुवानीमा बढी रकम तिर्नुपरेको उनले गुनासो सुनाए । कोरोना अघिसम्म आफूले १६ व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै सुवेदीले अहिले चार जनालाई मात्र रोजगारी दिन सकेको बताए । “पहिले न्युनतम १०० वटासम्म च्याउका टनेल बनाएका थियौं”, उनले भने, “प्रत्येक दिन ३०० किलो च्याउ बजारमा पठाइन्थ्यो, अहिले १५ वटा मात्रै टनेल छन्, मुस्किलले दैनिक १०० किलो निकाल्न पनि धौधौ छ ।”

उनका अनुसार तामक्रमको सन्तुलन मिलाउन सकेमा च्याउ खेती बाह्रैमहिना गर्न सकिन्छ । यसका लागि २० देखि २८ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ । सरकारले च्याउ खेतीका लागि तापक्रम अनुकूलित टहरा बनाइदिने हो भने कृषकलाई ठूलै राहत मिल्ने उनले बताए । सुवेदीले हाल कन्ये र सिताके च्याउ लगाउनुभएको छ । बजारमा कन्ये च्याउ प्रतिकिलो २०० रुपैयाँ पर्छ भने सिताके च्याउ प्रति किलो ६०० रुपैयाँ पर्दछ । च्याउ लगाइएको तीन महिनामा उत्पादन दिने उनले बताए । 

च्याउ खेतीका साथै आफ्नो फर्ममा प्राङ्गारिक तरकारीसमेत उत्पादन गर्ने गरेको उनले जानकारी दिए । राज्यका तर्फबाट कृषकलाई आकर्षित गर्ने किसिमका कार्यक्रम ल्याउनु आवश्यक भएको बताउँदै च्याउ सञ्जाल कास्कीका अध्यक्षसमेत रहेका सुवेदीले व्यावसायिकताको विकासका लागि निरन्तरको क्रियाशीलता र लगाव आवश्यक हुने उल्लेख गरे ।

स्थानीय तहमा कृषि उत्पादनमा वृद्धि

स्थानीय तहमा गरिबी निवारण गर्न तथा आर्थिक समृद्धि र रोजगार व्यवस्थापनको लागि उदयपुरको विभिन्न स्थानीय तहले पर्यटन, उद्योग, आदि योजना अगाडि बढाइरहेको बेला तीन स्थानीय तहले भने कृषि विकास र उत्पादनलाई विशेष जोड दिँदै उत्पादन वृद्धि गरेका छन् ।

ती स्थानीय तहमा बेलका, चौदण्डी र त्रियुगा नगरपालिका रहेका छन् । विगत दुई वर्ष देखिनै जिल्लाको बेलका नगरपालिकाले सबै भन्दा बढी कृषि उपज उत्पादनलाई जोड दिँदै हरियो तरकारी, मकैखेतीको उत्पादनमा जोड दिँदै आएपछि त्यसको उत्पादनमा अहिले वृद्धि भएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।

बेलकामा कृषि उत्पादनमा मुख्य त पाँच सय हेक्टर क्षेत्रफलमा हरियो तरकारी उत्पादन गर्दै आएको र यस आर्थिक वर्षबाट ७०० हेक्टरमा हरियो तरिकारी उत्पादनको लागि योजना अगाडि बढाएको प्रमुख थापाले बताए । एक वर्षभित्र बेलकाले चार करोड मूल्यको एक हजार ८०० टनसम्म तरकारी उत्पादन गरेको बेलका नगरपालिकाले जनाएको छ । 

कृषि उत्पादन वृद्धिको लागि नगरपालिकाले धान उत्पादन र मकै उत्पादनमा विशेष जोड दिँदै कृषकलाई निःशुल्क मल बीउसहित सबै जग्गामा अनिवार्य रुपमा धान र मकैखेती उत्पादनमा जोड दिएको नगरपालिकाले जनाएको छ । यसको लागि नगरपालिकाले पटकपटक गरेर रु डेढ करोडसमेत कृषिमा लगानी गरिसकेको प्रमुख थापा बताउँछन् ।

 कृषिबाटनै नगरपालिकाको विकास र आर्थिक सम्भव रहेका कारण जिल्लाको चौदण्डीगढी नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएको सो नगरपालिकाका प्रमुख  खगेन्द्र राईले राससलाई बताए । चौदण्डी गढीले कृषिमा मुख्य गरेर अहिले चौदण्डी कटुन्जे बेबला क्षेत्रको झण्डै ४०० हेक्टर क्षेत्रफलमा आलु उत्पादनमा जोड दिएको छ भने जिल्लाको सुन्दरपुर, हँडिया जोगिदह क्षेत्रमा धान र केरा खेतीमा जोड दिएको छ ।

गत वर्षसम्म २४० हेक्टरमा आलु खेती हुने गरेको नगर विस्तार गरेर ३०० हेक्टर भन्दा बढीमा ५० लाख लगानी गरेर आलु उत्पादन सुरु गरेपछि यस पटक चौदण्डीमा अहिलेसम्मकै धेरै आलु उत्पादन भएको र आलुमा उत्पादनमा नगर आत्मनिर्भर भएको चौदण्डी नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरी बताउँछन् ।

चौदण्डीमा अहिले केरा खेतीसमेत व्यापक विस्तार गरिएको नगरपालिकाले बताएको छ । दुई वर्ष अघिसम्म नगरपालिकाभित्र १९ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । त्रियुगा नगरपालिकामा दुई वर्षदेखि व्यापक कृषि विकास योजना अभियान शुरु गरेको नगरप्रमुख बलदेव चौधरी बताउँछन् ।

उनका अनुसार त्रियुगाले दुई वर्षदेखि नगरमा केरा र धान उत्पादनमा जोड दिएको छ । तीन हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको नगरपालिकामा दुई वर्षदेखि धानखेती विस्तार गरेर चार हजार हेक्टर पुगेको नगरपालिकाले बताएको छ ।

कृषकलाई कृषिमा प्रोत्साहन गर्न निःशुल्क मल बीउ वितरण र तालीम व्यवस्था र अन्य आर्थिक अनुदानसमेत सहयोग गरेर नगरपालिकाले सबै जग्गा उत्पादन कार्यमा लगाउने अभियान सुरु गरेको छ । जिल्लाको पाँच स्थानीय तहहरु कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले विशेषत पर्यटन, फलफुल जटीबुटी, साना घरेलु उद्योगमा जोड दिएर आर्थिक विकास गर्ने योजना अगाडि सारेका छन् । 

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार अहिले तरकारी उत्पादनबाट बेलकामा दुई सय युवाले रोजगारी पाएको र वार्षिक करोडौंको तरकारी अन्यत्र बिक्री हुन थालेको थापा बताउँछन् । बेलका नगरपालिका अहिले तरकारी र अन्नमा आत्मनिर्भर भएको पनि बेलका नगरपालिकाले बताएको छ । 

यस्तै चौदण्डी नगरपालिकाले पनि आलु र केरा उत्पादनमा राम्रो आम्दानी हासिल गर्न थालेको र सयौं कृषक आत्मनिर्भर र रोजगारी बनेको सो नगरपालिकाका प्रमुख राईले बताए ।

कमेन्ट लोड गर्नुस