धनगढी–दिपायल द्रुत मार्ग निर्माण नहुँदा १० बर्षमा ४ अर्व बढिको ईन्धन आयात
धनगढी–दिपायल द्रुत मार्ग निर्माण नहुँदा प्रदेश नम्वर ७ मा १० बर्षमा चार अर्व बढिको ईन्धन आयात भएको छ। द्रुत मार्गको निर्माण सुरु भएको १० बर्ष बितेपनि अहिले सम्म २० कलिोमिटर ट्रयाक खोल्न पनि बाँकी छ। द्रुत मार्ग निर्माण नहुँदा अहिले झण्डै एक सय किलोमिटर घुमाउरो राजमार्ग प्रयोग गर्नुपरेकाले १० बर्षमा चार अर्व बढिको थप ईन्धन आयात भएको हो।
द्रुत मार्ग निर्माण भएको भए अहिले ४ अर्व रकम सुदूरपश्चिमवासीले बचत गरेका हुन्थे। फाष्ट ट्रयाकको लागत झण्डै एक अर्व गरिएकोमा निर्माण सुरु भएको १० बर्ष सम्म त्यस्को चार गुना बढी रकमको ईन्धन आयात भईसकेको हो। त्यसैले समयमै द्रुत मार्ग निर्माण भएको भए, अहिले प्रदेश नम्वर ७ का वासिन्दाले झण्डै पौने तीन अर्व बढि बचत गरेका हुन्थे।
सुदूरपश्चिम यातायातका अध्यक्ष पदम सापकोटाले द्रुत मार्ग निर्माण नहुँदा आवतजावत गर्दा झण्डै दोव्वर बढि भाडा तिर्नुपर्ने बाध्यता छ भने लामो दुरीमा दुर्घटनाको खतरा पनि बढ्दै गएको छ। अहिले बाजुरा, अछाम र डोटीबाट धनगढी आवतजावत गर्दा यात्रुहरुले पनि तिर्दै आएको भाडामा द्रुत मार्ग निर्माण भए झण्डै आधाले घट्ने देखिएको छ।
धेरै ठाउँका वासीन्दाले त एकैदिनमा ओहोरदोहोर पनि गर्न सक्नेछन्। तर नेताहरुले अर्को चुनावका लागि पनि मुद्धा जोगाईराख्ने परिपाटीका कारण द्रुत मार्ग अलपत्र परेको शैलेश्वरी यातायातका अध्यक्ष गणेश मलासीले बताए।
द्रुत मार्ग बने दुर्घटनाको न्यूनीकरण हुने
प्रदेश ट्राफीक प्रहरी कार्यालयका प्रमुख केदार रजौलेले धनगढी दिपायल द्रुत मार्ग निर्माण भए बाजुरा, अछाम र डोटी जिल्लाका वासीन्दाले झण्डै एक सय किलोमिटर कम यात्रा गर्नुपर्ने भएकाले दुर्घटना हुने क्षेत्र आफै कम हुने बताए। द्रत मार्ग निर्माण भए तीन वटै जिल्लामा आवतजावत गर्दा झण्डै एक सय किलोमिटर दुरी घट्ने भएकाले रातीमा सार्वजनिक सवारी साधनको आवश्यकता पनि घट्ने छ।
तर स्थानीय, प्रदेश र संघिय सरकारले धनगढी दिपायल द्रुत मार्गलाई ओझेलमा पार्दा एक सय किलोमिटर कम दुरीमा आवतजावत गर्ने सपना पुरा हुन नसकेको शैलेश्वरी यातायातका अध्यक्ष गणेश मलासीले बताए। द्रुत मार्ग निर्माण भए अहिले देखिएको भिमदत्त पन्त र केआईसीह रामार्गमा सवारी साधनको चाप घट्ने छ भने पहाडी जिल्लालाई जोड्नका लागि एउटा मात्रै राजमार्गको भर पर्नुपर्ने छैन्।
विभिन्न समयमा पहिरोका कारण लामो समय सम्म राजमार्ग नै अवरुद्ध हुने समस्याले यात्रुहरु अलपत्र पर्ने अवस्था पनि आउने छैन्। यस्तै दिवा सेवामै सार्वजनिक सवारी साधन सञ्चालन भए रातीको समयमा बढ्दै गएका सवारी दुर्घटना पनि न्युनीकरण हुने छ।