सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली नालामा पानीको प्राकृतिक बहाव थुनिनेगरि तटबन्धन !

२०७७ फाल्गुन ८, ०७:२९ नारायण अवस्थी

धनगढीः धनगढी उप–महानगरपालिका–१ स्थित कैलाली पुलको दक्षिणतर्फ कैलाली टोल छ। त्यही टोलतर्फ भएर बग्ने नाला माथिको पुलको ७ मिटर समेत ओगट्नेगरी प्रदेश सरकार मातहतको भू तथा जलाधार कार्यालय डोटीले झण्डै १५ लाख रुपैयाँ र स्थानीयको  २ लाखको लागतमा तटबन्धन गरिएको छ।

 

यसरी सो नाला साँघुरो हुनेगरि र पानीको बहाव रोकिनेगरि प्रदेश सरकारले गरेको तटबन्धनले धनगढी नै डुबान पर्ने चिन्ता गरिएको छ। तर उपभोक्ता समितिका अध्यक्ष बिनोद चेम्जोङले भने आफ्नो टोलमा हुने कटान रोक्न तटबन्धन गरिएको र सो तटबन्धनले नाला नथुनिने दाबी गरेका छन्।

‘काम गर्दा कसैले गुनासो गरेनन्। अहिले डुबान पर्छ भनेर हुन्छ? तराईमा त वर्खामा जहाँ पनि डुबान हुन्छ। हाम्रो क्षेत्र पनि त डुबानमा पर्छ। बाटो साँघुरो छ। सो बाटो चौडा बनाउन पनि तटबन्धन गरिएको हो,’ उनले भने।

 

धनगढी नगर क्षेत्र केहि वर्षदेखि वर्खामा डुवानको चपेटामा पर्दै आइरहेको छ। धनगढी नगर क्षेत्रमा खोलानालामा पानीको बहाव थुनिने गरि सरकारी र व्यक्तिगत रुपमा भइरहेको अतिक्रमणले नगर क्षेत्रमा डुबानको जोखिम झन बढेको गुनासो गरिएको छ। 

तर कैलाली नालामा पुल समेत पर्नेगरी तटबन्धन निर्माण कार्य धनगढी उप–महानगरपालिका–१ नम्बर वडा कार्यालयको सिफारिसमा गरिएको र नालाको बहाव सो तटबन्धनले नथुन्ने दाबी भू तथा जलाधार व्यवस्थापन कार्यालय डोटीका सूचना अधिकारी गणेश त्रिपाठीको रहेको छ। 

‘प्रदेश सरकारको रातो किताबमा परेको योजना हो। वडा कार्यालयको सिफारिसमा सो ठाउँमा योजना कार्यान्वयन भएको हो। नालामा गरिएको तटबन्धनले पानीको बहाब छेक्दैन,’ त्रिपाठीले भने। 

नगरमा भइरहेको व्यक्तिगत र संस्थागत अतिक्रमण हटाउने जिम्मेवारी धनगढी उप–महानगरपालिका सरकारको हो। तर जथाभावी खोलानाला साँघुरो हुने गरी निर्माण गरिने तटबन्धनमा आफ्नो कुनै सहमति नरहेको दाबी गरिएको छ।

प्रदेश सरकारले स्थानीय उपभोक्ता समिति मार्फत काम गराएकोले त्यसमा नगरपालिकाले कुनै निर्देशन नगरेको वडा नम्बर १ का अध्यक्ष समेत रहेका उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए।

धनगढीको मुख्य बजारमा पर्ने कैलाली नालामा प्राकृतिक बहाव थुनिनेगरि सुदूरपश्चिम प्रदेश सरकार मातहतको जलाधार तथा भू संरक्षण कार्यालयले तटबन्धन गरेको गुनासो गरिएको छ। 

नालाको क्षेत्रफल नै साघुरिने गरि माथि हालिएको पुलको समेत सात मिटर ओगट्ने गरी नालामा तटबन्धन गरिएपछि वर्षातमा तारानगर र हसनपुरमा क्षेत्रमा हुने डुबानको समस्या थप बढ्ने चिन्ता गरिएको छ। 

धनगढी नगर क्षेत्र वर्षेनी वर्खायाममा डुबानको चपेटामा पर्दै आइरहेको छ। एकातिर डुबानको समस्या हल गर्ने उपाय खोजी गर्न नगरबासीले भन्दै आएका छन।

अर्कोतर्फ सरकारी निकायबाटै खोलानालाको प्राकृतिक बहाव थुनिनेगरी भौतिक संरचना निर्माण भइरहदा डुबानको समस्या धनगढीका लागि सधैँभरि रहिरहने भन्दै चिन्ता व्यक्त गरिएको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस