भागरथीका दाईले दिए हत्याका आरोपी भट्टविरुद्ध जाहेरी
धनगढी: बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएको भन्दै एक जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ।
भागरथीका दाई शंकर भट्टले छिमेकी १७ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका हुन्।
भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई म्याद थपको लागि अदालत लगिएको छ।
जिल्ला अदालत बैतडीमा लगेर आरोपी भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिने प्रहरी तयारी छ। भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनलाई दिउँसो २ बजे सार्वजनिक गरिने प्रहरीले बताएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन्।
भोलिपल्ट माघ २२ गते उनी स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी छन्।
उनको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी दिनेश भट्टलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
उनले अपराध स्वीकार गरिसकेको प्रहरीको दाबी छ।