त्रिनगर–गौरीफन्टा नाकामा प्रहरीको असुलीधन्दा बढ्यो, प्रति भारतीयबाट ५ सय !
धनगढीः भारतीय नागरिक विशाल गुप्ता आइतबार धनगढी आउँदै थिए। तर गौरीफन्टामा अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहेको भन्दै नेपाल प्रहरीले रोक्यो। गुप्तालाई गोप्य ठाउँमा लिएर प्रहरीले खर्च दिएपछि प्रवेश दिने भनेपछि गौरीफन्टा नजिकैको डोकेबजारमा २ सय रुपैयाँ दिएर अटोमा धनगढीतर्फ पठाइयो।
पुल वारी आउन नपाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएका प्रहरी अधिकारीहरुले रोक्दै प्रवेश गर्न नदिने भन्दै फर्काए। उनीहरुले प्रहरी अधिकारी भएको ठाउँ गए। पोशाकमै रहेका प्रहरीहरुलाई गुप्तासहित ४ जनाले ३ सयका दरले रुपैयाँ दिएपछि मात्रै उनीहरुले धनगढी प्रवेश गर्न दिए। धनगढीमा व्यापार गर्र्दै आएका गुप्तासहितका ४ जनाबाट ५ सयका दरले सीमा क्षेत्रमा रकम असुल गरिएको उनको गुनासो छ।
त्रिनगर–गौरीफन्टा नाकामा कैलाली र कञ्चनपुरका सुरक्षाकर्मीको रकम असुली धन्दा झनै मौलाएको आरोप लागेको छ। कोरोना भाइरसको महामारीका बेला नाका बन्द रहेको अवस्थामा ५ हजारका दरले असुली गरि भारतीय प्रवेश दिने गरेको आरोप खेपेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुले अहिले पनि विभिन्न बाहानामा रकम असुलिरहेको गुनासो गरिएको हो।
सरकारले दुवै देशका नागरिकलाई आवातजावत गर्न मिल्नेगरि पूर्ण रुपमा नाका खोलेको छ। तर सुरक्षाकर्मीले नाका बन्द नै रहेको भन्दै नेपाल आउने भारतीयबाट रकम असुली गरेर अनाहकमा दुःख दिएको उनीहरुको भनाइ छ।
“सीमा नाका खुल्ला भएको भनेपछि आएका हौ। तर गौरीफन्टामा नै रोकियो। पैसा दिएर धनगढी आएका छौ,” उनले भने।
सरकारले माघ १६ गतेदेखि भारतसँग जोडिएका सबै सीमानाका खोल्ने निर्णय गरेपनि सीमामा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुले नाका बन्द नै रहेको भन्दै भारतीय नागरिकबाट रकम असुलिरहेका गुनासो नरोकिएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीमा पनि पटक–पटक उक्त गुनासाहरु आएका छन्।
तर सीमा क्षेत्रको सुरक्षाको जिम्मा कञ्चपुर प्रशासनले लिएको देखाउँदै कैलाली प्रशासन पन्छिने गरेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आफु कहाँ पनि गुनासो आएको बताए।
उनले भने, “हामीलााई पनि गुनासो आएका छन्। कञ्चनपुरका सिडियो सावसँग कुरा गरेको थिए। एसपीले पनि एसपीसँग गर्नु भएको थियो। फेरी पनि आएको भए म भनौला।”
त्रिनगर गौरीफन्टा नाकाको कैलालीतर्फ खटिएका सुरक्षाकर्मीहरु खुलेआम रकम असुली गरिरहेको आरोप नौलो भने होइन्। विगतमा नाका कैलाली प्रशासन मातहत भएका बेला समेत रकम असुलीका गुनासा प्रायः दैनिकजसो आउने गरेको छ।
कञ्चनपुर प्रशासनले पनि पीडितहरुबाट कुनै गुनासाहरु प्राप्त नभएको दाबी गर्दै आएको छ। यदि सीमा क्षेत्रमा रकम असुली गरेको खुलेमा सम्बन्धी अधिकारीहरुलाई कारवाहीको दायरामा ल्याइने बताउँछन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापा। प्रहरी अधिकारीबाट गैरकानूनी काम भएको बारेमा कुनै गुनासो नआएको उनको भनाइ छ।
तर उनले, प्रहरी अधिकारीले पैसा लिन नहुने, लिएको भए हदैसम्मको कारबाही हुने बताए। “हामी कहाँ गुनासो आएको छैन्। एक सयमा फोन गर्दा पनि हुने। तर आएको छैन्। प्रहरीले सीमामा रकम लिएको भए हदैसम्मको कारबाही गर्छाै। नैतिकताले पनि त्यो दिदैन्,” उनले भने।
सरकारले पछिल्लो पटक गरेको निर्णयकै आधारमा भारतसँग जोडिएका बैतडी र दार्चुलाका सीमा नाका खुलिसकेका छन्। तर कैलाली र कञ्चनपुरका स्थानीय प्रशासनले भने परिपत्र नै नआएको बताउँदै नाकामा सहज रुपमा आवागमन गर्न दिएको छैन्। त्यसैको मौकाको फाइदा सीमामा खटिने सुरक्षाकर्मीले उठाइरहेको गुनासो बढेको छ।