कैलालीमा उद्योगको विषाक्त ढल सीधै नदीमा, नियमनकारी निकाय भने बेखबर
धनगढीः कैलालीको गेटामा लक्ष्मी कथ्था उद्योगले विषाक्त तरल पदार्थ मिसिएको पानी बग्ने ढल वर्षौँदेखि सीधै नदीमा मिसाइरहेको पाइएपनि नियमनकारी निकाय भने त्यसलाई रोक्नेबारे उदासिन देखिएका छन्।
गोदावरी नगरपालिका–५ को गेटामा सञ्चालनमा रहेको लक्ष्मी कथ्था उद्योगले विषाक्त रसायन युक्त ढल नदीमा मिसाएकापछि स्थानीयले ठूलो क्षति व्यहोर्नुपरेको गुनासो गरेका बेला नियमन गर्ने निकाय भने त्यसबारे बेखबर देखिएका हुन्।
उद्योगबाट प्रशोधन बिना निस्किने तरल पदार्थका कारण नदीमा पाइने जलचर प्राणी सखाप पारिएको दाबी समेत गरिएको छ।
तर नियमनको जिम्मा पाएको घरेलु तथा साना उद्योग कार्यालयले भने आफूकहाँ त्यस्तो कुनै गुनासाहरु प्राप्त नभएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नवराज भट्टले बताए। ‘हामी कहाँ कुनै गुनासो आएको छैन्,’ उनले भने, ‘तर हामी अनुगमन गर्छाै।’
सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयमा समेत वातावरणीय प्रदुषण र त्यसले पारिरहेका असरको अध्ययन गर्न कर्मचारीको छुट्टै दरबन्दी कायम गरिएको छ।
तर अहिलेसम्म कर्मचारीको पदपूर्ति भएको छैन। तर लक्ष्मी उद्योगबाट निस्कने विषाक्त तरल पदार्थ ढलमा मिसाइरहदा प्रतिबन्धित हो की होइन भन्ने कानूनी प्रावधानबारे समेत अनविज्ञता प्रकट गरिएको छ।
यद्यपी स्थलगत अनुगमन गर्ने तयारी कार्यालयले गरेको छ। ‘प्रदुषण हेर्न कर्मचारीको अभाव छ। तर पनि अनुगमनका लागि पठाउँछु। अनुगमनपछि मात्र अन्य कानूनी प्रक्रियाका बारेमा तपाइलाई बताउछु,’ भट्टले भने।
उद्योगको रसायन युक्त विषाक्त पदार्थले नदीको पानीको रंग समेत कालो भएको देख्न सकिन्छ। उक्त पानी पूर्ण रुपमा दुषित रहेकाले मानिसको हात हालेमा समेत पोल्ने गरेको स्थानीयको भनाई छ।
स्थानीयहरुबाट समेत कुनै खालको गुनासो नपाएको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको साना तथा घरेलु उद्योग कार्यालयको छ।
लक्ष्मी कथ्था उद्योगले भने खयरको काठ र काजुको छिल्काबाट कथा र कच उत्पादन गर्दै निस्कने विषाक्त पदार्थ संसोधन नगरी नदीमा मिसाउने गरेको छ।
२०३२ सालमा स्थापना भएको उद्योगले एक सय ९० जना स्थानीयलाई रोजगारी दिएतापनि विषाक्त पदार्थको ढलको उचित व्यवस्थापन नहुँदा थप क्षति व्यहोर्नु परिहरको छ।
गेटा खोलाका नामले परिचित त्यो नदीको पानी मोहना नदीमा समेत मिसिने भएकाले थप क्षति गर्ने जोखिम पनि उतिकै रहेको छ।