कैलालीको कथ्था उद्योगको रसायनयुक्त ढल सोझै नदीमा
धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटास्थित लक्ष्मी कथ्था उद्योगले ४५ वर्षदेखि उद्योगबाट निस्कने रसायनयुक्त विषाक्त तरल पदार्थ गेटा खोलामा फाल्ने गरेको पाइएको छ।
खोलामा फालिने औद्योगिक तरल पदार्थले खोलाको पानी नै दुषित बनेको छ। तरल पदार्थले पानी नै कालो र दुर्गन्धित बनेको छ। नाम उल्लेख नगर्ने सर्तमा दिनेशखबरकर्मी सँगै खोला किनार पुगेका स्थानीयहरुले नाक छोप्दैै भने, “आज कालो कम छ। नदीको पानी योे भन्दा बढी कालो हुन्छ। ढल निस्कने पाइप भन्दामाथिको खोलामा माछा छन्। तर यो भन्दा तल भ्यागुता, सर्प पनि मरिहाल्छन्।”
उद्योगले विषाक्त रसायनयुक्त तरल पदार्थ ढलमा मिसाउँदा ठूलो क्षति व्यहोर्नुपरे पनि त्यसतर्फ कसैले ध्यान दिन नसकेको गुनासो स्थानीयको छ। सोही तरल पदार्थका कारण नदीमा पाइने जलचर प्राणी संकटमा परेको एक स्थानीयले भने, “नदीमा हात हाल्न पनि सकिदैन्, पोल्छ। एक पटक मैले हात हालेको थिए। हातमा फोका भयो। हामीले बालबालिकाहरुलाई नदीमा जान दिएका छैनौ। धेरै वर्ष भयो।”
उद्योगले वषौँदेखि विषाक्त तरल पदार्थ नदीमा मिसाउँदा जलीय वातावरण नै संकटमा परेको गुनासो स्थानीयको छ। नदीमा पाइने माछा, भ्यागुता, सर्पलगायत जलप्राणी मात्रै होइन पानी पिउन पुग्ने घर पालुवा जनावर समेत मर्ने गरेको स्थानीयले बताएका छन्।
ढल मिसिएको ठाउँबाट फर्किदै गर्दा एक महिला भन्दै थिइन्, “मेरो बुंगुर यसै खोलामा आयो। केही समयमा मरिहाल्यो। तर उद्योगले केही दिएन्।” नदीको पानी पिउँदा धेरैे घरपालुवा जनावर मरेका स्थानीयको दुखेसो छ।
नदीको पानी अति नै दुषित भएको बताउँदै एक स्थानीयले नदीको पानीमा हात हालेमा समेत पोल्ने गरेको बताए।
कुनै पनि नदीमा विषाक्त पदार्थ मिसिएपछि त्यहाँ बस्ने जलचर प्राणीहरुलाई अक्सिजनको कमी भएर आफै मर्ने गरेको विज्ञहरु बताउँछन्।
उद्योग धन्दाबाट निस्कने विषाक्त पदार्थ नदीमा मिसाउनु कानूनले समेत बन्देज गरेको बताइएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशु पंक्षी विकास महाशाखा प्रमुख डाक्टर हेमराज अवस्थीले नदीमा ढलको पानी मिसाउनु गलत भएको बताए।
उनले भने, “कथ्था खयरबाट बन्छ। उनीहरुले प्रशोधन कसरी गरे भन्ने पनि हुन्छ। तर नदीमा सिधै मिसाउनु हुँदैन्। जलचर प्राणीहरु मर्छन्। उनीहरुका लागि मात्रा कति हो भन्ने कुराले पनि अर्थ राख्छ।”
तर लक्ष्मी कथ्था उद्योगले भने खयरको काठ र काजुको छिल्काबाट कथ्था र कच उत्पादन गर्दा निस्कने विषाक्त पदार्थ संसोधन नगरी नदीमा मिसाउने गरेको छ।
उद्योगका व्यवस्थापक रोशनकुमार कर्णलदे २०३२ सालबाट नदीमा ढल मिसाएको बताए। उनले कुनैपनि जीवलाइ असर नगर्ने जिकिर गरे।
“तपाइले विचार गर्दा हुन्छ। कुनै नोक्सानी गर्दैन्। यो पहिलेदेखि नै हो,” उनले भने।