सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लागुऔषध दुव्र्यसनको जालो शहरदेखि ग्रामीण भेगसम्म, समस्या विकराल बन्दै

२०७७ फाल्गुन १, १०:०६ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रिचमण्ड फेलोसिप नामक पुनस्र्थापना केन्द्रका संयोजक रामबहादुर रजक १२ वर्षसम्म लागुऔषधको दुव्र्यशनमा नराम्ररी फसेका थिए।

तर विगत २० वर्षदेखि उनी सामान्य जीवनमा फर्किएर लागुऔषध विरुद्धको अभियानमा सक्रिय छन्। उनले सञ्चालन गरेको पुनस्र्थापना केन्द्रमा हाल बिभिन्न जिल्लाका २२ जना दुव्र्यशनी उपचार गरिरहेका छन्। उनले आफ्नो अनुभव अनुसार १५ देखि २५ वर्ष उमेर समूहका व्यक्ति दुव्र्यशनको चंगुलमा फस्न सक्ने अधिक सम्भावना रहेको बताउँछन्।

‘दुव्र्यशनमा फस्न प्रेरित गर्ने अनेक कारण भएको तर मुख्य कारण भने साथी समूह, देखासिकी, नैराश्यता, बेरोजगारी पारिवारिक वातावरण र असफलता हुन्’ रजकले भने। शहरी क्षेत्रमा मात्रै नभै लागु औषध दुव्र्यशनीको संख्या ग्रामीण र पहाडी क्षेत्रमा समेत बढिरहेको दाबी रजगको छ। 

प्रहरीको अनुसन्धानले पनि सबै क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको जालो फिजिएको देखाएको छ। प्रदेशका शहरीदेखि ग्रामीण क्षेत्रसम्म लागुऔषधको समस्या विकराल बन्दै गएको बताइएको हो। खुला सीमाका कारण भारतबाट ब्राउन सुगर र ट्याबलेटको ओसारपसार बढ्दो क्रममा रहेको प्रहरी बताइएको छ।

रजकको सो पुनस्र्थापना केन्द्र पनि पछिल्लो समयमा ब्राउन सुगर, ट्याबलेट, चरेस र गाँजाको दुव्र्यशनी पुनस्र्थापना केन्द्रमा आउने गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक वर्ष २०७६÷२०७७ को तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा १७० वटा लागुऔाधी सम्बन्धी मुद्दा दर्ता भएको थियो। जुन क्रम बढ्दो रहेको प्रहरीले जनाएको छ।

लामो समयसम्म लागु पदार्थको सेवनले केन्द्रीय स्नायु प्रणालीमा असर गर्ने र विभिन्न मानसिक समस्या समेत भोग्नुपर्ने हु्न्छ। बिभिन्न किसिमका लागु पदार्थको उत्पादन र ओसार पसारको सञ्जाल तोड्न सके दुव्र्यशनको दुश्चक्रबाट बचाउन सकिने भएपनि भारतसँगको खुला सिमाबाट हुने गरेको लागु औषधको सहज ओसारपसारले युवाहरु सहजै दुव्र्यशनी भइरहेको बताइएको छ।

तर प्रहरीले भने लागु पदार्थ नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले प्रहरीले लागु औषध नियन्त्रणलाई प्राथमिकतामा राखेर नियन्त्रण गरिरहेको छ।

‘खुला सीमाका कारण नियन्त्रणमा चुनौती रहेपनि कैलाली र कञ्चनपुरमा प्रहरीले नियन्त्रणमा सफलता समेत हासिल गरेको छ’ सिंहले दाबी गरे। अढाइ दशकदेखि सामाजिक क्षेत्रमा सक्रिय नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) गरेको सर्वे अनुसार सुदूरपश्चिम प्रदेशमा हालसम्म तीन हजार ३२८ जना लागुऔषध सेवनकर्ता भेटिएका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस