जन्मदिनको अवसरमा डोटीका पत्रकार सिंहद्वारा अक्षयकोष स्थापनाका लागि सहयोग
डोटी: नेपाल प्रेस युनियन डोटीका पूर्व सचिव खगेन्द्र सिंहले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेका छन्।
अन्नपूर्ण दैनिकका डोटी संवाददाता सिंहले ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि ११ हजार एक सय एक रुपैंया सहयोग गर्ने घोषणा गरेका हुन।
नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षयकोष स्थापना गर्न लागेको छ।
कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन्। हाल सम्म कोष स्थापनाका लागि डेढ लाख बढी रकम संकलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए।
प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ। जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए।
पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएका खड्काको ३ वर्षपछि मात्रै कंकाल भेटिएको थियो। जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो।
स्वर्गिय पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए।