विपद्मा काम लाग्यो बालकोष
बझाङ : बचत गर्न भनेर बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुबा महाविरे सार्कीलाई अनौंठो लागेको थियो । दश रुपैयाँ बचत गरेर के होला र भन्ने सोचेका उनले छोरीको ढिपी पूरा गर्न दिएको सो पैसा आपत्मा काम लागेको छ ।
करिश्मा जस्तै सो विद्यालयमा अध्ययनरत ११० छात्र/छात्राले गरेको बचत अहिले कोभिड– १९ का विपत्मा सुरक्षित तरिकाले विद्यालय सञ्चालन गर्न काम लागेको छ । गाउँपालिकामा अन्य विद्यालय बन्द रहेका बेला पनि सञ्चालनमा रहेको सो विद्यालयमा पढ्ने विद्यार्थीलाई कोरोनाको डर छैन ।
बालबालिकाले स्थापना गरेका बालकोषमा जम्मा रकमले कोभिड सुरक्षाको लागि आवश्यक मास्क, स्यानिटाइजरलगायत कोभिड सुरक्षा सामग्री किनेर विद्यालय निर्बाध सञ्चालन भएको छ । कोराना महामारीका कारण गतचैतदेखि बन्द भएका तलकोट गाउँपालिकाका विद्यालय गतअसोजमा खुले ।
विद्यालय खुलेपनि कोरोनाको जोखिम कायमै थियो । यद्यपि विद्यार्थीसँग डराइडराइ विद्यालय जानुको विकल्प थिएन । कतिपय विद्यालय महामारीको डरका कारण अझै राम्रोसँग सञ्चालन हुनसकेका छैनन्।सो प्राविमा पनि सुरुका केही दिन यस्तै समस्या भयो । कक्षा ५ मा अध्ययनरत बाल क्लबका अध्यक्ष राकेश सार्कीले भने “चार पास भएर ५ कक्षामा गएकोमा मनमा खुशी त थियो । कोराना लागेर मान्छे मरिरहेको खबर रेडियोमा सुन्दा स्कुल जान डर पनि लाग्थ्यो ।”
उनले कोरोनाका डरले धेरै विद्यार्थी विद्यालय आउन छोडेपछि शिक्षक र बाल क्लबले सल्लाह गरेर कोषको रकमबाट कोभिड सुरक्षा सामग्री किन्ने निर्णय गरेको बताए । कोषमा जम्मा भएको करिव रु ११ हजारले विद्यार्थीलाई ६ महिनासम्म पुग्ने गरी माक्स, स्यानिटाइजर खरीद गरियो ।
प्रत्येक विद्यार्थीले माक्स लगाउन थाले र जोखिमपूर्ण अवस्थामा स्यानिटाइजर प्रयोग गर्न थालेपछि सबै जना ढुक्क भएर विद्यालय जान थालेका कक्षा ५ मा अध्ययनरत छात्रा वन्दना सिंहले बताइन् । उनले भने “बाल क्लबले माक्स र स्यानिटाइजर दिएपछि विद्यालय नआउने पनि ढुक्क भएर विद्यालय आउन थाले । अहिले हामीलाई कुनै डर छैन ।”
उनले अहिले विद्यार्थीमा सरसफाइ गर्ने बानीको विकास हुनुको साथै विद्यालय आउदा माक्स लगाएर आउने र विद्यालयमा स्यानिटाइजर लगाई कक्षा कोठाभित्र जाने गरेको बताइन् । विसं २०७५ वैशाखबाट यहाँका विद्यार्थीले बालकोषको रुपमा मासिक १० रुपैयाँ जम्मा गर्न थालेका थिए ।
गैरसरकारी संस्था एकीकृत विकास समाज नेपाल (आइडिएस) को सहजीकरणमा बाल क्लब गठन गरेर कोषको सुरुआत गरिएको थियो । कोषमा जम्मा भएको रकमले बालबालिकालाई विद्यालयमा आउने ससाना समस्याको समाधान गर्न सहयोग गर्ने उद्देश्य राखिएको थियो ।
बाल क्लबमा आवद्ध विद्यार्थीलाई सरसफाइ सम्बन्धी सचेतना जगाएर उनीहरु मार्फत् समुदायमा सरसफाइ अभियान चलाउनका लागि यस्तो गरिएको थियो । अभिभावक महावीरे सार्कीले भने, “१० रुपैयाँले के गर्ने होलान भन्ने ठानेको थिएँ । अहिले त्यही रकम आपत्मा काम लागेको छ । सबै भन्दा ठूलो कुरा हामीले सरसफाइ गर भनेर सिकाउनु पर्ने बालबालिका उल्टै हामीलाई सरसफाइ गर्न सिकाउँछन् । बालबालिकाहरुमा आएको परिर्वतन देखेर औधी खुशी लागेको छ ।”
संस्थाले यहाँका शिक्षक तथा बाल क्लबमा आवद्ध बालबालिकालाई सरसफाइ सम्वन्धी नियमित सचेतना कार्यक्रमपछि समुदाय सरसफाइमा पनि राम्रो प्रभाव परेको छ । महिनामा एक पटक सो संस्थाले सरसफाइ सचेतना कार्यक्रम गर्ने गरेको छ ।
यसले बालबालिकाका बानीमा धेरै परिर्वतन भएको छ । विद्यालयका प्रधानाध्यापक वसन्त विकले भने, “केटाकेटीले विद्यालयमा मात्रै होइन, आफ्नो घरमा पनि सरसफाइका कुरा सिकाउन थालेका छन् । पहिला फोहर हुने बच्चा पनि अहिले चिटिक्क परेर स्कुल आउन थालेका छन ।”
बाल क्लबमा आवद्ध भइसकेपछि विद्यार्थीको नेतृत्व विकास समेत भएको छ । बालबालिका विभिन्न अतिरिक्त क्रियाकलाप गरेर क्षमता विकास गर्ने गरेका छन् । प्रत्येक शुक्रबार क्लबले हाजिरी जवाफ, वक्तृत्वकला र अन्य खेलकूदका कार्यक्रम आयोजना गर्ने गरेको छ ।
गाउँमासमेत विद्यार्थीले कोभिड– १९ बाट बच्ने उपाय र सरसफाइको बारेमा कुरा गर्ने गरेका छन् । उनीहरु शिक्षक अभिभावको साथ लिएर विद्यालयलाई पूर्ण सरसफाइ युक्त विद्यालय बनाउने र बालकोषबाट प्रत्येक कक्षाकोठामा डस्टबीनको व्यवस्था गर्ने अन्य सरसफाइ सामग्री खरीद गर्ने योजनामा रहेको क्लबले जनाएकोे ।
तलकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भण्डारीले बालबालिकाका आफ्नै पहलमा भएको काम पालिका भरिमै नमूनाको रुपमा रहेको र अरु विद्यालयले पनि यस्तै अभ्यास गर्न थालेको जानकारी दिए । शिक्षक, अभिभावक र विद्यार्थीले चाहेमा नहुने भन्ने केही रहेनछ भन्ने गतिलो उदाहरण बनेको छ विद्यालय ।
सानातिना कामको लागि पनि पालिकाकै मुख ताक्नेलाई सो विद्यालयले गतिलो जवाफ दिएको छ । उनले गाउँपालिकाले यो कामलाई अन्य विद्यालयमा पनि लागू गर्ने र सबै विद्यालयमा बाल क्लब गठन गर्ने तयारी गरेको जानकारी दिए ।