निड्स नेपालद्वारा सुदूरपश्चिमका ३ जिल्लामा बेमौसमी तरकारीखेती तालिम, बझाङमा शनिबारबाट सुरु
धनगढी : राष्ट्रिय वातावरण तथा सम विकास समाज नेपाल (निड्स) द्वारा बझाङमा ३ महिने बेमौसमी तरकारीखेती तालिमको उद्घाटन गरिएको छ ।
निड्स नेपालद्वारा सञ्चालित “बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रवद्र्धन परियोजना" अन्तर्गत जयपृथ्वी नगरपालिका -७ मा ३ महिने बेमौसमी तरकारीखेती तालिमको उद्घाटन गरिएको हो । तालिम सो वडाका २० जना कृषकहरुलाई दिन लागिएको निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीले बताए ।
उनका अनुसार सुदूरपिश्चमका कैलाली, कञ्चनपुर र बझाङ गरि तीन जिल्लामा निड्स नेपालले कृषकहरुलाई बेमौसमी तरकारीखेती तालिम दिइरहेको छ । जस अन्तर्गत कैलालीमा तालिम सञ्चाल गरिसकेको, कञ्चनपुरको एक पालिका बाँकी रहेको र बझाङमा सुरु गरिएको उपाध्यक्ष जोशीले बताए । कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी, घोडाघोडी र गौरीगंगा नगरपालिकामा उक्त तालिम सञ्चालन गरिएको थियो ।
त्यस्तै कञ्चनपुरको भीमदत्त, शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, बेलौरी नगरपालिकामा तालिम सञ्चालन गरिएको र पुनर्वास नगरपालिकामा अब सञ्चालन गरिने उपाध्यक्ष जोशीले बताएका छन् । शनिबार बझाङको जयपृथ्वीमा उद्घाटन गरिएको तालिम आइतबार खप्तडछान्ना गाउँपालिका, सोमबार केदारस्यूँ गाउँपालिकामा उद्घाटन गरिने र बित्थडचीर गाउँपालिकाको सम्भाव्यता अध्ययन भइरहेको उनले बताए ।
यूरोपियन यूनियनको आर्थिक सहयोग र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सीटीईभीटीको पाठ्यक्रम अनुसार उक्त तालिम दिइन लागिएको बताइएको छ । साथै तालिमपश्चात् सीप परीक्षण पनि गरिने बताइएको छ । उद्घाटन कार्यक्रम सो नगरपालिकाका उप प्रमुख जुना जाग्री, वडा अध्यक्ष हरिचन्द्र जोशी, कार्यक्रम अधिकृत विनोद कडारा, लेखा अधिकृत गणेश राज भट्ट, अनुगमन तथा मुल्याङ्कन अधिकृत पुष्पा जोशी लगायतको उपस्थितिमा सञ्चालन गरिएको थियो ।