सरकारी वकिल र डाक्टर पनि घटनास्थलमा, किशोरीको मोबाईल विश्लेषण गर्दै प्रहरी
धनगढीः प्रहरीले बैतडीमा किशोरी मृत भेटिएको घटनालाई गम्भीर रुपमा लिदै सोहीअनुसार घटनाको अनुसन्धानलाई अघि बढाएको छ। बिहीबार घटनास्थललाई नियन्त्रणमा लिएर ‘सिल’ गरेको प्रहरीले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले घटनाको गाम्भीर्यतालाई ध्यानमा राखेर सोहीअनुसार अनुसन्धान भइरहेको दिनेशखबरलाई बताए।
प्रहरी वरिष्ठ उपरीक्षक सिंहकाअनुसार जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशी र सरकारी वकिल कार्यालयका न्याधिवक्ता भानदेव जोशी पनि घटनास्थल पुगेका छन्।
प्रहरीकै आग्रहमा उनीहरु समेत घटना पुगेका हुन्। शवको परीक्षण, बलात्कारपछि हत्या भएको आशंकामा परीक्षणका लागि आवश्यक पर्ने भेजाइनल स्वाब लगायतका अन्य आवश्यक नमूना संकलन गर्न प्रहरीले डाक्टरलाई घटना स्थलमै बोलाइएको जनाएको छ।
यस्तै, सरकारी वकिल कार्यालयका न्यायधिवक्ता जोशी पनि घटनाको वास्तविक वस्तुस्थिती बुझ्न घटनास्थल पुगेको बताइएको छ।
बुधबारदेखि बेपत्ता दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिईन्। उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।
प्रहरीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाबाट पाठ सिक्दै सोही प्रकृतिको यो घटनामा गम्भीर रुपमा अनुसन्धान थालेको बताएको छ।
सुरुदेखि भएका त्रुटीका कारण निर्मला पन्तको घटना गिजोलिएको प्रहरीको निष्कर्ष छ।
घटनास्थलमा भेटिएको मृतक किशोरीको मोबाईल विश्लेषण गर्दै प्रहरी
घटनास्थलमै रहेका बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले किशोरीको शव भेटिएकै स्थानमा उनले प्रयोग गर्ने मोबाईल समेत फेला परेको बताए।
उनले मोबाईलको समेत सुक्ष्म तरिकाले अनुसन्धान भइरहेकाले त्यसबाट समेत केही कुरा खुल्ने विश्वास व्यक्त गरे।
उनले किशोरीको बलात्कारपछि हत्या गरिएको आशंका भएपनि शव परीक्षण र थप अनुसन्धानपछि मात्र बाँकी कुरा खुल्ने बताए।