बझाङमा कलिलै उमेरका विद्यार्थीलाई राजनीतिक पार्टीका कार्यक्रममा सहभागी गराइँदै
प्रताप ओली, बझाङ: बझाङमा स–सना विद्यार्थी बालबालिकामाथि राजनीतिक हस्तक्षेप हुन थालेको छ।
नेपाल कम्युनिष्ट पार्टी दुवै पक्ष र नेपाली कांग्रेसले बालबालिकाको पढाइलाई अवरोध गरेर पार्टीका संगठन विस्तार र जुलुसमा सहभागी गराउन थालेका छन्।
पढाइ भइरहेको समयमा पार्टीका कार्यक्रममा सहभागी गराउनाले यहाँका विद्यार्थीको पढाइ प्रभावित बन्न थालेकोप्रति शिक्षक अभावबाट चिन्ता व्यक्त हुन थालेको छ।
जिल्लाका विभिन्न ठाउँमा अहिले नेकपाको भातृ संगठन अनेरास्ववियूले विदार्थीहरुलाई नयाँ संगठन विस्तार, पार्टी प्रशिक्षण गरेको पाइएको छ। भने, नेपाली कांग्रेसले स्थानीय तह स्तरिय विरोध सभामा विद्यालय बन्द गरि नारा जुलुसमा विद्यार्थीलाई सहभागी गराएको पाइएको छ।
नेपाली कांग्रेसले खप्तडछान्ना र साइपाल गाउँपालिकामा पार्टीको विरोध जुलुसमा र अनेरास्ववियूले जिल्लाका प्रायःजसो विद्यालयमा पढाई अवरोध गर्दै संगठन विस्तार गरिरहेका छन्।
माघ ८ गते नेपाली कांग्रेसले खप्तडछान्नामा र साइपाल गाउँपालिकामा बालबालिकाको दुरुपयोग गरि जुलुसमा सहभागी गराएको थियो। यस्तै नेकपा दुवै पक्षधर अनेरास्वीयूले अझै पनि जिल्लाका धेरैजसो विद्यालयमा संगठन विस्तार गरिरहेको छ।
यसरी बालबालिकाको हित विपरित गरिने पार्टीका कार्यक्रमले उनीहरुको दुरुपयोग गरेको शिक्षक लक्ष्मण उपाध्यायले बताए।
यस्तै कानुनी अधिवक्ता मोहन दौल्यालले पनि उक्त कार्य बालबालिकाको क्षेत्रभन्दा बाहिरको भएकाले बालबालिकामाथि गरिने राजनीतिले बालश्रम गराए सरह हुने बताए।
जसले आफ्नै भविष्यको बारेमा बुझेका हुँदैनन् उनीहरुलाई राजनीतिक कार्यक्रममा सरिक गराउने संस्कार विनाको राजनीतिभित्र पर्ने युवा इन्द्र विष्टको भनाई छ।