बझाङका निर्माणाधिन खेलमैदान अलपत्र, अन्न बाली भित्र्याउने समय कुर्दै खेलाडीहरु
प्रताप ओली, बझाङ: बझाङमा क्रिकेट, भलिबल लगायतका खेलमा युवाहरुको आकर्षण बढ्न थालेको छ। पछिल्लो समय नेपाली क्रिकेट टिमले विदेशमा देखाएको प्रदर्शनबाट युवाहरु प्रायः क्रिकेट खेलतर्फ आकर्षित भएका हुन्। तर अहिले जिल्लामा केही समथर ठाउँ भएपनि त्यहाँ विकास निर्माणले गति लिन थालेपछि खेल मैदान क्षेत्र झन् खुम्चिएको देखिन्छ।
उपयुक्त खेल मैदान र खेल सामाग्रीको अभाव हुँदा क्षमता प्रदर्शन र प्रशिक्षण गर्न असहज भएको खेलाडीहरु बताउँछन्।
छबिसपाथिभेरा, दुर्गाथली, जयपृथ्वी नगरपालिका, सुर्मा गाउँपालिकामा सबैभन्दा बढी युवाहरु खेलतर्फ आकर्षित देखिन्छन्। बझाङका खेलाडीहरुले प्रादेशिक स्तरमा आफ्नो उपस्थिति जनाएपनि अभ्यास खेलहरु कम भएका कारण राष्ट्रिय स्तरमा पुग्न नसकेको बताइरहेका छन्।
अभ्यास खेलहरु खेल्नकै लागि यहाँका युवाहरु खेतको अन्न घर भित्र्याउनसम्म कुरिरहेका हुन्छन्। जहाँ उनीहरुले अभ्यास गर्न पाउनेछन्।
भलिबल, क्रिकेट जस्ता खेलका लागि खेलाडी युवाहरुको कमी नभएको तर खेल मैदान अभावले यहाँका युवाहरु पछाडी परेको केदारस्युँका युवा दिपेन्द्र भण्डारीले बताए। यस्तै बुंगल र जयपृथ्वी नगपालिका ६ मा खेल मैदानका लागि काम अगाडी बढेपनि अझै त्यो प्रयाप्त नभएको बुंगलका युवा नरेश कुँवरले बताए।
नेताहरुले युवालाई नारा लगाउन जहाँपनि जति खर्च गरेर भएपनि प्रयोग गर्ने तर युवाको लागि एक खेल मैदानसम्म नबाउनु दुःखद भएको मष्टा–३ का गुलाफ धामीको भनाई छ।
हाल संघीय बजेटमा बनिरहेको जयपृथ्वी नगरपालिका ६ को क्रिकेट मैदान पनि बजेट अभावमा अलपत्र परेको छ। संघीय सरकारको ९६ लाख बजेटमा ५४ प्रतिशत कम रकममा शेरबहादुर बोहराको सुर्मा सरोवर निर्माण सेवाले काम गरेको र बाँकी रहेको २० लाखले महेन्द्र खत्रीले काम गरेको भएपनि मैदान १० प्रतिशत काम मात्रै भएको वडाध्यक्ष नरेन्द्र सिंहले बताए।
उनका अनुसार मैदान १०० लम्बाइ र १०० मिटर चौडाइको बनाउने पर्ने भएपनि चौडाइ अझैं ५० मिटर बाँकी नै रहेको छ। उक्त क्रिकेट मैदान डाँडामा बनाइन लागेको र पाइप नपर्ने ठाउँमा हुनाले त्यहाँ उपयुक्त नभएको जयपृथ्वी नगरपालिका ३ का रविन्द्र खड्काले बताए।
मानव वस्तीबाट टाढा र डाँडा बनिरहेको मैदान बनाउनु बालुवामा पानी खन्याउनु जस्तै भएको उनको भनाइ छ। यस्तै बुंगलमा पनि बजेट अभावमा खेल मैदान अलपत्र परेको छ।
स्थानीय तहको चाँसो नै छैन।
१२ स्थानीय तह रहेको बझाङमा स्थानीय तहबाट एउटा पनि खेल मैदान निर्माण नहुनु आफैमा दुखद भएको भलिबल खेलाडी बिशाल विक बताउँछन्। स्थानीय तहले वातावरणिय प्रभाव मुल्यांकन नै नगरी सडक विस्तार गर्नु र आफू निकटका उपभोक्ता समितिलाई कनिका छरेजस्तो तरिकाले सामान्य नहर, खानेपानी वितरण गर्नुबाहेक अन्य कुरामा ध्यान नदिएको उनको भनाई छ।
थलाराका इन्द्र विष्ट पनि स्थानीय तहले विकास भनेको सडक, खानेपानी मात्रै हुन् भन्ने बुझेको बताउँछन्। तर नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंह भने जनप्रतिनिधिहरु धेरै पढे लेखेका नहुँदा विकासका सूचकबारे अज्ञात रहेको आशय व्यक्त गर्छन्।
मानव विकास, रोजगारीका लागि उद्योगधन्दा, शिक्षा, खेलकुद, स्वास्थ्य, पर्यटनमा जनप्रतिनिधिको ध्यान नपुगेका सिंहको भनाई छ।