कैलालीमा वन कर्मचारी र पदाधिकारीकै संरक्षणमा हुन्छ रातारात काठ तस्करी
धनगढी: कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरमा रहेको शिवशंकर सामुदायिक वन क्षेत्रबाट रातिको समयमा सालका गोलिया तस्करी भएको सूचनापछि सोमबार सव–डिभिजन वन कार्यालय बढैपुरको समूह अनुगमनमा गयो।
वन अधिकृत चन्द्रबहादुर भण्डारीसहितको समूहले सामुदायिक वन क्षेत्रबाट तस्करी गरिएको काठ वनका पदाधिकारीले बरामद गरेको पायो। सामुदायिक वनका पदाधिकारीले सालको गोलिया बरामद गरेको र जंगल क्षेत्रमा रातिको समयमा तस्करी हुँदै आएको सव–डिभिजन वन कार्यालय बढैपुरका प्रमुख भण्डारीले बताए। ‘जंगल क्षेत्रमा भेटिएन्। तर सामुदायिक वन क्षेत्रमा समेत अनुगमन गर्यौं। सामुदायिक वनले नियन्त्रणमा लिएको काठको तथ्यांक ल्याएका छौ’ उनले भने।
तर सामुदायिक वनले घाटगद्दिमा राखेको सालको काठ समेत चोरी हुँदै आएको आरोप लागेको छ। सामुदायिक वनका पदाधिकारी, वनका कर्मचारीहरुको संलग्नतामा तस्करहरुले रातिको समयमा जंगल क्षेत्रसंगै घाटगद्दिमा भएको सालको काठ चोरी गर्दै आएको आरोप लागेको हो।
उता शिवशंकर सामुदायिक वनकी अध्यक्ष नन्दा बमले जंगल क्षेत्रमा काटिएको रुख मात्र फेला पर्ने गरेको बताइन। उनले भनिन्, ‘वन क्षेत्रमा चोरी भएका सालका देखिन्छन्। तर कतिबेला चोरी हुन्छन, जानकारी हुँदैन्। केहि हामीहरुले पक्राउ गरेका छौ।’
गएको असोजदेखि माघ १७ गतेसम्म सो सामुदायिक वन र सँगै जोडिएका संरक्षित राष्ट्रिय तथा साझेदारी वन क्षेत्रबाट झण्डै ४० वटा रुखका गोलिया चोरी भएका छन्। यस्तै झण्डै ३० सालका हरिया रुख काटिएका दाबी गरिएको छ।
शिवशंकर सामुदायिक वन एक उदाहरण मात्र हो। जिल्लाका अन्य सामुदायिक वन तथा साझेदारी वन क्षेत्रबाट रातिको समयमा यसरी नै काठ चोरी हुँदै आएको छ।
डिभिजन वन कार्यालय धनगढी भने सरकारले सालको काठ ओसारपसारमा रोक लगाएपछि रातिको समयमा तस्करी हुँदै आएको बताउदै आएको छ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले रातिको समयमा गस्ती गरेको तर कुतै काठ काटिएको नभेटाएको बताए। ‘रातिको समयमा जंगल क्षेत्रबाट काठ चोरी हुँदै आएको गुनासोपछि म पनि गएको थिए। २ दिन गए। तर हामीले तस्कर पक्राउ गर्न सकेनौ’ उनले भने, ‘हामीले जिल्लाका वनहरुमा रातिको समयमा पनि सक्रियता बढाएका छौ।’
कैलालीका वनहरुबाट रातिको समयमा सालको काठ चोरी तस्करी हुने क्रम रोकिएको छैन। जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनहरुमा रातिको समयमा गस्ती गर्दा समेत तस्कर पक्राउ गर्न नसकिएको वनका कर्मचारीले बताउँने गरेका छन्।
तर शसस्त्र प्रहरी र नेपाल प्रहरीले भने विभिन्न ठाउँबाट काठ तस्करलाई पक्राउ गर्दै वन कार्यालयहरुलाई बुझाउँदै आएका छन्।