बझाङको तल्कोटमा बाघ आतंक, वडा सदस्यका ११ भेडा खाइदियो
प्रताप ओली, बझाङ: बझाङको तल्कोट गाउँपालिकामा बाघले एक वडा सदस्यका ११ वटा भेडा खाइदिएको छ।
आइतबार बाघले वनमा चराउन लगेका भेडा तल्कोट गाउँपालिका वडा नम्बर ३ वष्टिको तिर्मलीखान सामुदायिक वनबाट खाएको हो।
तल्कोट गाउँपालिका ३ का वडा सदस्य समेत रहेका यज्ञराज रोकायाले पालेका भेडा वनमा फरक–फरक ठाउँमा खाएको अवस्थामा भेटिएको स्थानीय कुम्भराज रोकायाले बताए।
उनका अनुसार तल्कोटको सोही वडामा यसअघि पनि बाघले आतंक मच्चाउदै आएको थियो।
जङ्गलमा हराएका भेडा खोज्दै जाँदा आधा खाएको अवस्थामा भेटिएपछि स्थानीयले त्यहाँ २/३ वटा बाघ रहेको आशंका गरेका छन्।
मरेका भेडाको प्रहरीले मुचुल्का गरेर फर्किएको बताइएको छ।