धनगढीमा गैरकानूनी रुपमा तालिम सञ्चालन हुँदै, २ वर्षसम्म तालिम दिएर ३ महिनाको प्रमाणपत्र
धनगढी: व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट ३ सय ९० घण्टाको तालिम सञ्चालनको स्विकृती लिएका धनगढीका संस्थाहरुले गैरकानूनी रुपमा तालिम सञ्चालन गर्दै आएका पाइएको छ।
यतिसम्मकी ३ सय ९० घण्टाको तालिम सञ्चालनका लागि स्विकृती लिएका ती संस्थाहरुले २ वर्षसम्म तालिम सञ्चालन गर्दै आएका छन् भने विद्यार्थीहरुबाट २ वर्षसम्मको सेवा शुल्क भन्दै रकम असुल गर्दै आएका छन्।
तर उनीहरुले विद्यार्थीहरुलाई ३ सय ९० घण्टा तालिम लिएको प्रमाणपत्र दिने गरेका छन्। स्रोतका अनुसार धनगढीमा ३ सय ९० घण्टा(३ महिना)को तालिम सञ्चालन गर्दै आएका संस्थाहरुले २ लाख ५० हजारसम्म रकम लिदै आएका छन्।
व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) सुदूरपश्चिमका सूचना अधिकारी देवसिंह धामीले ३ सय ९० घण्टा तालिम सञ्चालनका लागि स्विकृती लिएका संस्थाहरुले बढीमा ३५ हजार प्रति विद्यार्थीबाट सेवा शुल्क लिन पाउने बताए। ३ सय ९० घण्टाको स्विकृती लिएका संस्थाले १८ महिना वा २ वर्ष भन्दै तालिम सञ्चालन गर्नु गैरकानूनी भएको उनी बताउँछन्।
धनगढीको नेक्सस एजुकेशन नेटवर्क एण्ड रिसर्च सेन्टरसँगै लाईफलाईन, गन्तव्य, सहारा लगायतका संस्थाहरुले ३ सय ९० घण्टा स्विकृती लिएर १८ महिना तथा २ वर्षसम्म सञ्चालन गर्दै आएका छन्।
धनगढीकै ककपिट क्याफे एण्ड ईन्जिनियरिङ अफ होटल म्यानेजमेन्ट एण्ड ट्रेड्रिङ सेन्टर, लाईफलाईन टेक्निकल कलेज, सहारा टे«ड्रिङ, धनगढी मल्टि स्किल, फिउचर लाइन इस्टिच्युट अफ टेक्नोलोजी, नार्गाजुन टेक्निकल कलेज एण्ड रिसर्च सेन्टललगायतका संस्थाले ३ सय ९० घण्टाका विभिन्न तालिम सञ्चालनका लागि सीटीईभीटीबाट स्वीकृती पाएका छन्।
उनीहरुले १८ हजारदेखि बढीमा ३५ हजारमा मात्र प्रति विद्यार्थी शुल्क लिनुपर्ने हो। तर २ वर्ष कार्यक्रम सञ्चालन गरेको तथा विभिन्न सेवा शुल्क देखाएर ती संस्थाले २ लाख ५० हजारसम्म रकम असुल गर्दै आएका छन्।
भएन अनुगमन, हुँदैन कारवाही
३ सय ९० घण्टा मात्र तालिम सञ्चालनको स्विकृती पाएका संस्थाले २ वर्षसम्म कक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीलाई लुट्दै आएको गुनासो गरिएको छ। सीटीईभीटीलाई ती संस्थाहरुले बढी समय तालिम सञ्चालन गरेको, सेवा शुल्कको नाममा बढी रकम लिएको भन्दै मौखिक गुनासो गरिएको छ। तरपनि गैरकानूनी रुपमा तालिम सञ्चालन गर्दै आएका संस्थाहरुमाथि कारबाही भने गर्न नसकेको विद्यार्थीको गुनासो छ।
उक्त विषयमा सीटीईभीटीका सूचना अधिकारी धामीले भन्छन, “लामो अवधिका तालिम सञ्चालनको वार्षिक कार्यक्रममा नै अनुगमन गर्ने हुन्छ। तर छोटो अवधिका तालिम गर्ने संस्थाहरुको संख्या धेरै भएकाले अनुगमन गर्न सकिएको छैन्। धननगढीका केहि संस्था र कञ्चनपुरका २ संस्थाले गैरकानूनी तालिम सञ्चालन गर्दै आएको मौखिक गुनासो आएको छ। गुनासो आधिकारिक नआएकाले पनि कारबाहीका लाागि समस्या भएको हो।”
यस्तै संस्थालाई नियमनकको अधिकार पाएका कैलालीका प्रमुख जिल्ला अधिकरी यज्ञराज बोहराले सीटीईभीटीको स्विकृतीमा सञ्चालनलमा रहेका संस्थाहरुले ताकिएको भन्दा बढी रकम लिनु ठगि भएको बताउँछन्।
उनले ती संस्थाहरुको अनुगमन नगरिएकको स्विकार गर्दै विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए कारबाही हुने प्रतिबद्धता जनाएका छन्।