अझै खुलेन झुलाघाट नाका
बैतडी: बिहिबार नेपाल सरकारले भारतँग जोडिएका सुदूरपश्चिमका सबै सीमा नाका खोल्ने निर्णय गरेतापनि नाकाहरुमा आवतजावत हुन सकेको छैन्।
भारतीय पक्षबाट नाका खोल्ने विषयमा अझै जानकारी नआएकाले बैतडीको झुलाघाट नाकामा आवतजावत हुन नसकेको हो।
नेपाल सरकारले गरेको निर्णय सहितको पत्र भारतीय स्थानीय प्रशासनलाई पठाएको र उनीहरुले पनि आफ्नो माथिल्लो निकायलाई पत्राचार गरिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।
सरकारले सीमा नाका खोल्ने निर्णय गरेकाले धेरै नागरिक नाकामा पुगेर अलपत्र परेका छन्। सरकारले गरेको निर्णय कार्यान्वयन नहुँदा नागरिकलाई सास्ती भइरहेको हो।
भारतीय पक्षको निर्णय आउने बित्तिकै नाकाबाट आवतजावत हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।