सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तहका करोडौंका उपकरण थन्कियो, विकास निर्माणको जिम्मा ठेकेदारलाई

२०७७ माघ १९, ०७:०९ नारायण अवस्थी

धनगढीः विकासे गतिविधि सञ्चालन गर्न करोडौं बजेटमा स्थानीय तहहरुले खरिद गरेका डोजर, एक्स्काभेटर र टिपरलगायत यन्त्र उपकरण बेकामे र अलपत्र पर्न थालेका छन्।

बिग्रेका यन्त्र उपकरण मर्मत सम्भार गर्नुको साटो विकासे गतिविधि ठेक्कामार्फत गरिन थालेपछि ती यन्त्र उपकरण बेकामे र अलपत्र पर्न थालेका हुन्।

पहिलो स्थानीय तह निर्वाचन भएकै वर्ष दार्चुलाको मालिकार्जुन गाउँपालिकाले पालिकाको सबै वडाका केन्द्रमा सडक सञ्जाल विस्तार गर्ने भनेर आर्थिक वर्ष २०७४÷०७५को अन्त्यतिर एक करोड १६ लाखमा एक्स्काभेटर खरिद गरेको थियो। 

सो एक्स्काभेटरलाई सञ्चालन गर्न गाउँपालिकाले चालक र सहचालक गरि दुई जना कर्मचारीलाई नियुक्ति दियो। तर खरिद गरेको १५ महिनासम्म सो एक्स्काभेटर चले पनि दुई वर्षदेखि भने गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ८ पापनामा अलपत्र छोडिएको छ।

जसप्रति गाउँपालिकाकै जनप्रतिनिधिले समेत आक्रोश व्यक्त गरेका छन्। मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष प्रेम पन्तले सबै वडामा सडक बिस्तार गर्न एक्स्काभेटर खरिद गरिएपनि अहिले सो एक्स्काभेटर बिग्रिएर अलपत्र अवस्थामा रहेको बताए।

वडा अध्यक्ष पन्तले भने, ‘वडा नम्बर ५ जाने सडक बनाउँदा दुई वर्ष अगाडि एक्स्काभेटर खराब भयो। जसका कारण अहिले भएको ठाउँसम्म ल्याइ पुर्याउन पाँच लाख खर्च भएको थियो। अहिलेसम्म मर्मत नगरिदा अलपत्र अवस्थामा छ।’

गाउँपालिकाले विग्रेको एक्स्काभेटर मर्मत गर्न ४ पटक निर्णय गरेको र त्यसको सम्पूर्ण जिम्मेवारी उपाध्यक्ष नेतृत्वको उपकारण मर्मत समितिलाई दिइएको जनाइएको छ। 

तर उपाध्यक्ष पुष्पा अवस्थीले भने गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतले मर्मतको लागि बजेट दिनुको सट्टा आफुलाई बदनाम गर्न खोजिरहेको आरोप लगाइन्।

‘निर्णय मात्रै गर्ने तर बजेट माग गर्दा मर्मत शिर्षकमा बजेट छैन भन्ने काम अध्यक्ष र प्रमुख प्रशासकीयले गर्ने गरेका छन। महिला भएकै आधारमा आफूलाई बदनाम गर्न उपाध्यक्षले काम गरेन भन्ने गरेका छन।’ उपाध्यक्ष पुष्पा अवस्थीले आक्रोश पोखिन्।

मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले भने उपाध्यक्ष नेतृत्वको समितिले नै एक्स्काभेटर मर्मत गर्नु भनेर कार्यपालिकाबाट चार पटक निर्णय गरिएको बताएका छन् छ।

‘उपाध्यक्ष नेतृत्वको समितिलाई चार पटक कार्यपालिकाबाट निर्णय गरिएको छ। सो एक्स्काभेटर मर्मत गराउन लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने भनिए पनि उपाध्यक्षको उदासिनताको कारण मर्मतको कार्य नभएको हो।’ अध्यक्ष धामीले भने।

मालिकार्जुन गाउँपालिकामा मात्रै होइन, पछिल्लो समय विकासको लागिको लागि भन्दै स्थानीय तहले यन्त्र उपकरण खरिद गर्दै आएका छन्। तर ती उपकरणको सदुपयोग भने गर्न नसकेका हुन्। २ वर्ष अगाडि बझाङको बुंगल नगरपालिकाले पनि डोजर खरिद गरेको थियो। तर ती डोजर पनि जनप्रतिनिधीहरुको स्वार्थको टकरावका कारण थन्किएको थियो। जनविरोधपछि सो नगरपालिकाले पुनः सञ्चालनमा ल्याएको छ।

सुरुमा निर्वाचित हुँदा निकै उत्साहित भएर विकासका लागि भन्दै स्थानीय तहमार्फत करोडौ मूल्यका उपकरण खरिद गराएका जनप्रतिनिधिहरु पछिल्लो समय आर्थिक लाभ र कमिसनको चक्करमा आफै डोजरलगायत उपकरणका मालिक बनेका छन्। जुनकारण सरकारी उपकरणहरुको वेवास्ता हुँदै आएको छ। 


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस