पिसीआर नेगेटिभ रिपोर्ट भए क्वारेन्टिन बस्नु नपर्ने
हाल ७२ घण्टे पिसीआर रिपोर्टकासाथ होटल क्वारेन्टिन बस्नुपर्ने झण्झटले विदेशी पर्यटक आवागमनमा असहज भएको भनी व्यवसायीले गुनासो गरिरहेकाबेला पर्यटन मन्त्रालयले उक्त मापदण्ड खुकुलो बनाउने भएको छ ।
पर्यटनमन्त्री ढकालले पिसीआर नेगेटिभ रिपोर्टले निर्वाध रुपमा घुम्न पाउने र खोपलगाएर आएको विदेशीले सहज रुपमा नेपाल भ्रमण गर्नसक्ने व्यवस्थासहित मन्त्रालयले निर्णय गरी कोभिड– १९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई पत्राचार गरिएको र छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताए ।
कोभिडको खोप लगाएर आएका पर्यटकको सहज आवागमनका लागि सार्वजनिक रुपमा सूचना जारी गरिनेछ । पर्यटनमन्त्री ढकालले कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रलाई सहज वातावरण तुल्याउन अन्तर मन्त्रालय र सरोकारवाला निकायसँग छलफल गरी अब एक्सनमूलक काम गर्नेगरी मन्त्रालय अघि बढेको बताए ।
भारतलगायत मुलुकबाट धार्मिक पर्यटक आकर्षण गर्न प्रवद्र्धनात्मक कार्यक्रम गरिनुकासाथै आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिइने उनको भनाइ छ ।
पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डलाई प्रभावकारी बनाउनुका साथै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधार गरी क्षमता अभिवृद्धिजस्ता कामलाई विशेष महत्व दिइने पर्यटनमन्त्रीको योजना छ ।