सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गैरकानूनी इन्स्टिच्युट चलाएर लाखौँको ठगी, विद्यार्थीको भविष्यमाथि खेलवाड

२०७७ माघ १४, ०९:५४ कमल सावद

धनगढीः धनगढीका गौतम खड्का दुई वर्षको होटल म्यानेजमेन्ट (एचएम) को कोर्ष अध्ययनका लागि भन्दै २०७६ असोज २७ गते नेक्सस एजुकेशन नेटवर्क एण्ड रिसर्च सेन्टरमा भर्ना भए। 

धनगढीमै रहेको नेक्सस एजुकेशन नेटवर्क एण्ड रिसर्च सेन्टरमा खड्काले २० हजार रुपैयाँ सोही मितिमा जम्मा गरे। उनले त्यसपछिको समेत गरेर शैक्षिक शुल्क वाफतको जम्मा ६६ हजार रुपैयाँ संस्थालाई बुझाइकेका छन्

दिनेशखबरलाइ प्राप्त भएको बिलअनुसार खड्काले २०७६ असोज २७ गते २० हजार रुपैयाँ, २०७६ कै माघ ६ गते ३० हजार रुपैयाँ र  २०७७ को साउन १८ गते १६ हजार रुपैयाँ गरि ६६ हजार नेक्सस एजुकेशन नेटवर्क एण्ड रिसर्च सेन्टरलाई बुझाएको देखिन्छ। 

तर रिसर्च सेन्टरले शैक्षिक शुल्क वाफत २ लाख ५० हजार रुपैयाँ बुझाउन नसकेको भन्दै आफूलाई परीक्षामा सामेल नगराएको गुनासो उनी गर्छन्। 

‘पूर्ण पैसा नदिएको भनेर मलाई परीक्षाबाट वञ्चित पारियो। परीक्षा दिन नपाउने भएपछि सर्टिफिकेट ल्याउन त्यहाँ गएको थिए। तर उहाँहरुले दिनुभएन,’ खड्काले दिनेशखबरसँग भने, ‘२ लाख ५० हजार बुझाएका विद्यार्थीहरुलाई भने परीक्षामा समावेश गराइएको छ। तर केहि नतिरेका पनि  छन्। बोल्न नसक्ने विद्यार्थीलाई ठगी गरिएको छ।’

धनगढी उप–महानगरपालिका–४ मा उत्तरबेहडीमा रहेको नेक्सस एजुकेसन नेटवर्क एण्ड रिसर्च सेन्टरबाट ठगिएको विद्यार्थीहरुले गुनासो गरेका हुन्। अर्का विद्यार्थी धनबहादुर कुँवरले व्यवसायीक तालिम परिषद सीटीईभीटीबाट सम्बन्धन लिएको भन्दै आफूहरुमाथि ठगी गरिएको आरोप लगाए। 

उनले संस्थाले गत वर्ष आफूसहित ४४ जना विद्यार्थी भर्ना गर्दै झण्डै एक करोड १० लाख रकम असुली गरेर ठगी गरिएको दाबी गरे। संस्थाले भर्ना हुने बेला गरिएको मौखिक सझदारीअनुसार सेवा समेत नदिएको बताए। 

‘हामी भर्ना हुँदा एउटा कुरा भन्यो तर पछि अर्कै एक कुरा भयो,’ उनले भने, सुरुमा आइतबार, सोमबार र मंगलबार प्रयोगात्मक हुने भनेको थियो तर भएन। केहिले बाहिर काम गरेर सिकेका छन्।’

व्यवसायीक तालिम परिषद सीटीईभीटी प्रदेश कार्यालय सुदूरपश्चिमका सूचना अधिकारी देवसिंह धामीका अनुसार नेक्सस एजुकेशन नेटवर्क एण्ड रिसर्च सेन्टर दर्ता भएको छैन। सो चालु आर्थिक वर्षमा मात्र दर्ताका लागि कानूनी प्रक्रिया थालेको धामीले दिनेशखबरलाई बताए।

तर सो संस्थाले गत वर्ष विद्यार्थी भर्ना गरेर शैक्षिक शुल्क वापतको लाखौँ रकम असुल गरिसकेको छ। ‘नेक्सस एजुकेशन नेटवर्क एण्ड रिसर्च सेन्टरलाई हामी चिन्छौँ। तर कुन अर्थमा भने यो वर्ष उहाँहरु दर्ताको प्रक्रियामा हुनुहुन्छ। गत वर्ष नै विद्यार्थी भर्ना गरि रकम लिएको भए त्यो ठगी हो,’ धामीले भने। 

सीटीइभीटीको तथ्यांक अनुसार नेक्सस एजुकेसन नेटवर्क एण्ड रिसर्च सेन्टर नभई नेक्सस इन्टरनेश्नल एजुकेशन एण्ड ट्रेनिङ सेन्टर भने २ वर्ष पहिले नै दर्ता भएको छ। सो सेन्टरले ३ सय ९० घण्टाको जर्नल कुक, वेटर तथा हाउस किपिङको तालिका लागि स्वीकृती पाएको छ। 

तर २ वर्षको एचएमको तालिम दिने भनेर खोलिएको नेक्सस एजुकेशन नेटवर्क एण्ड रिसर्च सेन्टरको नामबाट बिल काटिएको पाइएको हो। नेक्सस एजुकेशनका सञ्चालक यज्ञराज अवस्थीले समेत दर्ता संस्था दर्ता नभएको कुरा स्वीकार गरेका छन्। उनले अहिले आवश्यक प्रक्रिया थालिएको बताएका छन्। 

अवस्थीले नेक्सससँग तीन संस्था रहेको दाबी गरे। ‘एउटा इन्टरनेशनल छ, एउटा रिसर्च सेन्टर छ, अर्काे नेक्सस एजुकेशन कन्सल्टेन्सी भन्ने संस्था छ,’ उनले भने, ‘हामीे रिसर्च सेन्टरको नामबाट नयाँ कार्यक्रम लिदैछौँ। तर विद्यार्थीलाइ दिएको रिसर्च सेन्टरको बिल जर्नल रिसिभमात्र हो।’

अवस्थीले संस्थाले भ्याट बिल समेत बनाइसकेको दाबी गरेका छन्। उनले सञ्चालन गरेको संस्था कानून सम्मत भएपनि विद्यार्थीबाट त्यसरी चर्को शुल्क असुल्न पाइदैन्। सीटीइभीटी सुदूरपश्चिम प्रदेश कार्यालयले तीन सय ९० घण्टाको जर्नल कुकको तालिमका लागि १८ देखि ३५ हजार रुपैयाँसम्म शुल्क लाग्ने गरेको जनाएको छ। 

नेक्सस एजुकेशनले भने गैरकानूनी रुपमा सञ्चालन गरि ७ गुणा बढि शुल्क असुलेको गुनासो विद्यार्थीहरुको छ। सञ्चालक अवस्थीले भने गुणस्तरका आधारमा अन्यको भन्दा बढि शुल्क लिएको दाबी गरे। 

‘गुणस्तरका आधारमा शुल्क लिएका हौँ। केहि तलमाथि हुन्छ। यस्तो कुरा गर्न सुहाउँदैन्। सीटीईभीटीको ४० हजार भन्दा बढि लिन पाउँदैन्,’ उनले भने, धनगढीका १० संस्थाको नाम तपाईलाई दिन्छु, सीटीईभीटीको नाममा बदमासी गरेर ढाई लाख रुपैयाँसम्म लिएका छन्। मैले त २५ हजार मात्र लिएको छु।”

सीटीईभीटीले १ तहका लागि ३ सय ९० घण्टा र २ तहका लागि ८ सय देखि १२ सय घण्टा तालिम सञ्चालनको स्वीकृती दिदै आएको छ। 

केही दिन अघि धनगढीकै धनगढी मल्टिस्किल इन्स्टिच्युट सञ्चालक राजाराम चौधरी पनि सीटीइभीटीको नाममा सयौँ विद्यार्थीलाई ठगेको मुद्दामा पक्राउ परेका छन्। चौधरीले समेत फर्जी कलेज सञ्चालन गरेर विद्यार्थीमाथि ठगी गरेको आरोप लागेको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस