कैलालीको गौरीगंगामा सडक कालोपत्रेका योजना अलपत्र, सर्वसाधारणलाई सास्ती
सरेन जैरू, धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले सडक कालोपत्रेका योजना अलपत्र पारेपछि आवतजावतमा सास्ती खेप्नु परेको स्थानीयले गरेका छन्।
नगरपालिकाले वडा नम्बर ३, ४, ५, ६, ७ र १० गरि ७ वडामा करिब ४ किलोमिटर सडक कालोपत्रे गर्न बीबीएस कन्स्ट्रक्सन कम्पनीसँग गत असारमा सम्झौता गरेको थियो।
गौरीगंगा नगरपालिकाका इन्जिनीयर तथा सूचना अधिकारी दिनेश खड्काले बीबीएस कन्स्ट्रक्शन कम्पनीसँग वडा नम्बर ३ मा ६ सय २० मिटर सडक कालोपत्रे गर्न २५ लाख १६ हजार ८ सयमा सम्झौता गरिएको बताए।
त्यस्तै वडा नम्बर ४ मा ५ सय ८१ मिटर सडक कालोपत्रे गर्न २५ लाख १६ हजार रूपैयाँमा, वडा नम्बर ५ मा ६ सय ५ मिटर सडक कालोपत्रे गर्न २५ लाख ६४ हजार रूपैयाँमा, वडा नम्बर ७ मा ५ सय ९३ मिटर सडक कालोपत्रे गर्न २५ लाख ६१ हजार रूपैयाँमा र वडा नम्बर १० मा ५ सय ५६ मिटर सडक कालोपत्रे गर्न २५ लाख ६४ हजार रूपैयाँमा सम्झौता भएको थियो।
‘सम्झौता अवधि सकिँदा निर्माण कम्पनीले कुनै सडकमा सब बेस (कालोपत्रे गर्दा हालिने सबैभन्दा सतहको भाग) मात्र हालेको छ भने कुनै सडकमा बेस हाल्ने काम मात्र सम्पन्न गरेको छ,’सूचना अधिकारी खड्काले भने, “पुस मसान्तभित्र सम्पन्न गनर््ुपर्ने भएपनि सम्झौता अवधि सकिँदा समेत कुनै पनि सडक कालोपत्रे गर्ने कामले पूर्णता भने पाएको छैन।“
गौरीगंगा नगरपालिका–५ का स्थानीय करन साउँदले निर्माण कम्पनीले सडक कालोपत्रे गर्ने काममा हात हालेर मात्र छोडेका कारण सडक कुरूप हुनुका साथै धुलाम्य र दुर्घटनाको जोखिम समेत बढेको बताए।
‘सडक कालोपत्रे गर्ने काममा निर्माण कम्पनीले चरम लापरवाही गरेपछि ठेकेदारको फोटोसमेत राखेर ’बाटो यता ठेकेदार कता?’ लेखेर पम्पलेट समेत टाँसेका थियौँ,’ उनले भने, ‘त्यसपछि ठेकेदार सम्पर्कमा आएर गल्ती स्वीकार गर्दै चैत्र महिना भित्रमा सबै वडाका सडकमा कालोपत्रे गरिसक्ने बताएका छन्।’
गौरीगंगा नगरपालिका वडा नम्बर ६ का स्थानीय गणेश बोगटीले लामो समयसम्म सडक कालोपत्रे हुँदै गरेको सडकमा विभिन्न निर्माण सामग्री थुपारिँदा साइकल, मोटरसाइकल र पैदल यात्रीलाई समेत आवतजावतमा समस्या भएको दुःखेसो पोखेका छन्।
तर निर्माण कम्पनी बीबीएस कन्स्ट्रक्शनका सञ्चालक शंकर आचार्यले कोरोना संक्रमणको जोखिम र प्रतिकुल मौसमका कारण केही ढिलाइ भएपनि आगामी चैत्र महिनाभित्रमा सबै वडामा कालोपत्रे गर्ने काम सम्पन्न गरिसक्ने दावी गरेका छन्।
‘असारमा सम्झौता भएपनि कोरोना कहरका कारण केही ढिलाई भएको हो,’ उनले भने, ‘अहिले चिसो मौसममा कालोपत्रे गरेमा सडकको कालोपत्रे उप्किने भएकाले केही समय होल्ड गरेका हौँ, चैत्र महिनासम्ममा सबै वडाका सडकमा कालोपत्रे गरिसक्छौँ।’