बैतडीको पाटन नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
बैतडी: बैतडीको पाटन नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई मिनिटिलर वितरण गरेको छ।
किसानहरुको मागमा आधारित रहेर ५० प्रतिशत अनुदानमा किसानहरुलाई मिनिटिलर वितरण गरिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा यन्त्रउपकरण प्रदान गर्नका लागि सूचना आह्वान गरेको र सोही सूचनाका आधारमा निवेदन दिएकाहरुलाई मिनिटिलर वितरण गरिएको उनले बताए।
पाटन नगरपालिकाले चालु आर्थिक बर्षमा यन्त्र उपकरणमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम स्वीकृत गरेको थियो। सोही कार्यक्रम अनुसार ३५ जना विभिन्न कृषि समूह, सहकारीमा आवद्ध किसानहरुलाई उपकरण प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
यन्त्र उपकरण खरीदमा नगरपालिकाले बढीमा एक यन्त्र बराबर ४२ हजार अनुदान दिने निर्णय गरेको थियो। किसानहरुले यन्त्र खरीद गरेपछि उनीहरुको खातामा नगरपालिकाबाट अनुदान रकम जम्मा गर्ने बताइएको छ।