सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशः आफ्नै योजना अनुगमन गरे बाफत सांसदहरुले लाखौँ भत्ता बुझ्छन्, कसले कति बुझे ? (सूचीसहित)

२०७७ माघ ११, १०:४६ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशका सांसदहरुले योजना अनुगमनका नाममा वार्षिक लाखौँ रकम भत्ता बाफत बुझ्ने परिपाटी कायमै रहेको छ।

सांसदहरुको आफ्नै निर्वाचन क्षेत्रमा आफैले बिनियोजन गरेका योजनाको अनुगमन गरेबाफत लाखौैं रकम भत्ता बाफत बुझ्ने गरेका हुन्।

हरेक सांसदले भ्रमण भत्ता र यातायात खर्च शिर्षकमा लाखौँ बुझेको तर त्यसको प्रभाव र असर भने कुनै पनि सरकारी योजना प्रभावकारी नदेखिएको आमसर्वसाधारणको गुनासो छ।

कञ्चनपुरको बेलौरीका स्थानीय लक्ष्मण दियालले भने, ‘भत्ताका लागि मात्रै सांसदहरुले अनुगमनको नाटक गर्ने गरेका छन्, आफनो घर वरिपरि रहेका योजनाको अनुगमनबाफत बाफत भत्ता बुझ्नु राज्यको ढुकुटीको दोहन बाहेक केही होइन।’

योजना अनुगमनमा भत्ता बुझ्ने परिपाटीलाई आमसार्वसाधारणले केवल कमाउधन्दा मात्रै भएको आक्रोश व्यक्त गरेका छन्।

तर सांसदहरुले भने नियम अनुसार भत्ता लिएको भन्दै आफ्नो बचाउ गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा संघीय, प्रदेश र स्थानीय सरकारद्धारा कार्यान्वयनमा रहेका योजनाको प्रभावकारीताका लागि सांसदहरुले योजनाको अनुगमन गर्न जानुलाई अन्यथा भन्न नमिल्ने जिकिर प्रदेश सभा सदस्य डिल्लीराज पन्तको छ।

उनले भने, ‘ योजनाको अनुगमन गरेर सरकारलाई उचित निर्देशन दिन सांसदहरुले आफ्नो जिल्लाको भ्रमण गर्न जाँदा योजना कार्यान्वयनमा नै सहयोग पुग्छ।’

योजना अनुगमन भत्ता कति छ ? 

प्रदेश सांसदहरुले योजना अनुगमन गर्न गएबापत हरेक सांसदले दैनिक २५ सय र यातायात खर्च बापत तराईमा भए ३ हजार, पहाडमा ४ हजार र हिमाली जिल्लामा ५ हजारका दरले प्रतेक पटक दुई तर्फी भाडा रकम उपलब्ध गराउने व्यवस्था छ। सो व्यवस्था अनुसार नै दैनिक भ्रमण भत्ता र यातायात खर्च पाउने गरेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामी बताउँछन्।

आफ्नो सुविधाका लागि आफै नियम बनाउने अवसर पाएका सांसदहरुले भने भ्रमण भत्ता र यातायात खर्च पाउने प्रवधानको बचाउमा छन्। 

सुरुका दुई आर्थिक वर्षको तथ्यांक हेर्दा सुदूरपश्चिमका ५३ जना सांसद मध्ये अधिकांश सांसदहरुले भ्रमण भत्ता र यातायात खर्च बापत जनही ३ लाखभन्दा बढी रकम बुझेको पाइएको छ।

सबैभन्दा बढी भत्ता बुझ्नेमा काँग्रेस सांसद भरतबहादुर खड्का सबैभन्दा कम बुझ्नेमा नेकपा सांसद वीरमान चौधरी देखिएका छन्।

प्रदेश सभाका सांसदहरुले भ्रमण भत्ता र यातायात खर्च बुझ्ने प्रतिस्पर्धाका बीच कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को क बाट निर्वाचित सांसद बीरमान चौधरीले भने सुरुका २ आर्थिक वर्षको अवधिमा ६७ हजार १ सय रुपैयाँ मात्रै बुझेको पाइएको छ। यो नै सबैभन्दा न्युन भत्ता रहेको जनाइएको छ।

सांसद चौधरीले भने, ‘सरकारी बजेट किफायती गर्नु पर्छ भन्ने ठानेर आफूले भ्रमण आदेश र भत्ताको लागि माग नगरेको हुँ।’ आफुले दुर्घटनामा पर्दा समेत उपचार खर्च नमागेको सांसद चौधरीको भनाइ छ।

सुदूरपश्चिम प्रदेश सभाले अहिलेसम्म ४२ वटा कानुन बनाएको भएपनि अधिकांश कानुन सेवा सुविधा दिनको लागि मात्रै निर्माण गरिएको तर नागरिकहरुलाई सेवा दिन भने अझै कयौँ कानुन बनाउन नसकेको आरोप लाग्दै आएको छ। 

सुदूरपश्चिम प्रदेश सभामा सांसदहरुका लागि पहिलो वर्ष १ करोड बजेट बिनियोजन गरिएकोमा दोस्रो आर्थिक वर्षमा भने ५० लाख बिनियोजना गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

कसले कति बुझे ?

आव २०७४/२०७५ र २०७५/२०७६ मा प्रदेशका मन्त्री बाहेकका सांसदले बुझेको भ्रमण भत्ता र यातायात खर्चको अवस्थाः

१) अर्जुन बहादुर थापा (सभामुख) २,५२,५१८
२) निर्मला बडाल जोशी (उपसभामुख) २,२९, ५४५
३) अक्कलबहादुर रावल ३,०८,१७५
४) अर्चना गहतराज २,१६, ७५०
५) अमरबहादुर साउँद २, ३३,४००
६) अम्भी कुमारी थापा २,९५,७५०
७) उमा कुमारी बादी २,२५,७७५
८)कर्णबहादुर मल्ल २,९६,७२५
९) कुन्ती जोशी १,३४,७७५
१०) कुमारी नन्दा बम २,३९,०५०
११) कुलवीर चौधरी १,८२,८२५
१२) कृष्णबहादुर चौधरी १,३४,३७५
१३) गेल्बु सिंह बोहरा १,७४,०७०
१४) गोबिन्दराज बोहरा २,५२,५५०
१५) चुनकुमारी चौधरी २,८८,८००
१६) टेकबहादुर रैका आउजी २,०२,७२०
१७) डिल्लीराज पन्त १,०२९००
१८) तारा लामा तामाङ २,१६,९००
१९) दिव्यश्वरी शाह १,६७,९००
२०)दुर्गाकुमारी कामी २,८५,५२५
२१) देवकी मल्ल थापा २,९४,६७५
२२) देवराज पाठक १,९७,३७५
२३) नन्दबहादुर साउद १,१८,१५०
२४) नेपालु चौधरी १,७०,६२८
२५) पूर्णा जोशी २,०७,७५०
२६) प्रेमप्रकाश भट्ट २,७४,३५०
२७) बलदेब रेग्मी २,३३,७५०
२८) वलबहादुर सोडारी २,९७,८७५
२९) भरतबहादुर खड्का ३,१९,८७५
३०) मनाकुमारी साउँद २,४३,६२५
३१) महेशदत्त जोशी १,९५,४७५
३२) मानबहादुर धामी १,४२,१२५
३४) मानबहादुर सुनार १,९८,६२५
३५) माया तामाङ बोहरा १,५९,१२५
३६) मालामति रानाथारु १,४५,०००
३७) रणबहादुर रावल १,८९,१८१
३८) रतन थापा ८१,५००
३९) लालबहादुर खड्का २,२७,१७५
४०) लिलाधर भट्ट २,३८,०००
४१) बीरमान चौधरी ६७,१००
४२ं) शान्ति नेपाली २,३१,६२५
४३) श्यामलाल राना २,२१,५७५
४४) सुशिला बुढाथोकी १,४६,२५०
४५) हर्कबहादुर कुँवर २,३२, ५७६
४६) दीर्घबहादुर सोडारी ७२,७५०
४७) कृष्णराज सुवेदी  १,५८,१२५
४८) प्रकाश रावल १,१८, ३३०

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस