सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी जन्मियो अभियन्ता हमालको ‘महाप्रस्थान यान’को परिकल्पना

२०७७ माघ ८, ०२:४३ खबर संवाददाता

धनगढीः गत पुस ३ गते कैलालीको धनगढी उपमहानगरपालिका ५ हसनपुरका स्थानीय पुष्करदत्त भट्टका ७८ वर्षीय बुवा महेश्वरदत्त भट्टको निधन भयो।

धनगढी हसनपुरबाट गौरीगंगा नगरपालिकापस्थित शिवगंगा नदीको आर्यघाटमा अन्तिम संस्कारको लागि लगियो।

मृतक भट्टको शव यात्रामा उनका छोरा पुष्करदत्तका बाल सखा समेत रहेका सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालको पनि सहभागिता थियो। यसैबीच पार्थिव शरीर बोक्ने उपयुक्त गाडी नहुँदा पार्थिव शरीर कयौं पटक गाडीबाट झर्दै गरेको कारुणिक दृष्यले अभियन्ता हमाललाई मर्माहत बनायो।

गत पुस २३ गते नवजीवन सहकारीका सञ्चालक समिति सदस्य गोपाल पाठक र धनगढी जेसिजका अध्यक्ष श्याम पाठकका बुवा बुद्धिराज पाठकको निधन भयो। पाठकको अन्तिम संस्कार धनगढीस्थित मोहना आर्यघाटमा भयो।

पाठकको शव यात्रा पनि भट्टको जस्तै सास्तीयुक्त शव यात्रा थियो। जसको प्रमुख कारण धनगढीमा उपयुक्त गाडी नहुनुले अभियन्ता हमाललाई दुखित बनायो। 

यी २ प्रतिनिधि घटना मात्रै हुन्। शोकाकुल परिवारजनले आफ्नो प्रियजनको अन्तिम संस्कारको क्रममा भोग्दै आएको सास्तीलाई हटाउन विहिबार अभियन्ता हमालले नौलो सामाजिक कार्य गर्ने घोषणा गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका अभियन्ता हमालले आर्यघाटसम्मको यात्रा सम्मानपूर्वक बनाउन निःशुल्क महाप्रस्थान यानको व्यवस्था गर्ने उद्घोष गरेका छन्।

उनले विहिबार धनगढीमा पत्रकार सम्म्मेलन गर्दै भने,‘अन्तिम संस्कारको क्रमममा देखिने अभावको दृष्यले मलाई सोच्न बाध्य बनायो। मृत्युपछि मृतकका पार्थिव शरीरलाई सम्मानपूर्वक लगिनुपर्नेमा मैले त्यस्तो पाएन। जसको प्रमुख कारण धनगढीमा उपयुक्त सवारी साधन नहुनु हो। जुनकारण आर्यघाटसम्मको सहज यात्राको लागि निःशुल्क महाप्रस्थान यानको व्यवस्था गर्ने कार्यको सुरुवात गर्न लागेको हुँ।’

यहाँसम्म कि, कुनै पनि सवारी साधनका धनीले पार्थिव शरीरलाई शुल्क तिर्दा समेत बोक्न नमान्ने प्रवृतिले झनै आफुलाई बेलाबखत दुखित तथा मर्माहत बनाउने गरेको हमाल बताउँछन्।

सो यान चालु आर्थिक वर्ष २०७७÷२०७८ भित्रै निःशुल्क रुपमा सञ्चालनमा ल्याउने उनको भनाइ छ। यानको लागत ३० लाख रुपैयाँ रहेको छ। 

यानको विशेषता
यानभित्र पार्थिव शरीर र किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन समेत रहने अभियन्ता हमालले बताए। साथै यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न मिल्ने व्यवस्था गरिने भएको छ।

सो यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी आर्यघाट र गोदावरी नदी आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ। जसको व्यवस्थापनको जिम्मेवारी धनगढीका समाजसेवी शिद्धराज पनेरुलाई दिइएको छ।

निःशुल्क महाप्रस्थान यान सञ्चालन एउटा अभियान मात्रै रहेको बताइएको छ। निकट भविष्यमा कुनै संघ संस्थाले यसको सञ्चालनको जिम्मेवारी लिन चाहेको अवस्थामा हस्तान्तरण समेत गर्न सकिने अभियन्ता हमालले बताए। 
 

कमेन्ट लोड गर्नुस