सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा 'सिटी स्क्यान' राख्ने भवन निर्माणमा ढिलासुस्ती, बिरामीले निजी अस्पतालकै भर पर्नु बाध्यता

२०७७ पुष २८, १२:१८ कमल सावद

धनगढी: सेती प्रादेशिक अस्पताल धनगढीको भवन निर्माण सम्झौता भएको ६ महिना बितेको छ। तर भवनको जग समेत निर्माण पूरा भएको छैन्।

सेती प्रादेशिक अस्पतालले १ करोड ५९ लाख बढी मूल्यमा भवन निर्माणको गत असारमा ठेक्का दिएको छ। तर भवनको जग समेत निर्माणको काम सकिएको छैन्। भवन निर्माणमा भएको ढिलासुस्तीले अस्पतालको अत्यावश्यक सेवा अन्तरगत पर्ने सिटी स्क्यान मेसिन जडानमा ढिलाइ हुने देखिएको छ।

सेतीमा सिटी स्क्यान मेसिनको सेवा नभएकाले विरामीले सेवाबाट वञ्चित हुनु परेको छ। सिटी स्क्यान सेवाका लागि विरामीहरुले निजी अस्पताहरुमा चर्को शुल्क तिर्नुपर्ने बाध्यात्मक अवस्था बनेको छ। 

गत आर्थिक वर्ष विवादित बनेको सिटी स्क्यान मेसिन खरिदका लागि सेती प्रादेशिक अस्पताल र काठमाडौँको म्याक्स मेडिटेक सिस्टम प्रालिबीच गत कार्तिक २५ गते सम्झौता भएको छ। म्याक्स मेडिटेक प्रालीसँग ५ लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाख ८८ हजार ६ सय ७० रुपैयाँमा सिटी स्क्यान मेसिन आपूर्ति गर्ने सम्झौता भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

५ महिनाभित्र सिटी स्क्यान मेसिन आपूर्ति गर्ने सम्झौता भएको २ महिना भएको छ। तर सेती अस्पतालले मेसिन राख्न निर्माण थालेको भवनको भने जग समेत निर्माण पूर्ण भएको छैन्। चैत २५ गतेसम्म मेसिन धनगढी ल्याउन दाबी गरिएका बेला भवन अभावका कारण जडानमा भने समस्या हुने देखिएको छ। तर सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले निर्माण व्यवसायीले तोकिएको अवधिमा भवन निर्माणको काम पूर्ण गर्ने बताएकाले मेसिन जडानको काम प्रभावित नहुने बताए। 

सेती प्रादेशिक अस्पताल र इन्द्रधनु–अछाम निर्माण सेवाबीच १ करोड ५९ लाख ३६ हजारमा भवन निर्माणका लागि गत असार १२ गते सम्झौता भएको थियो। तर सम्झौता भएको ६ महिना गुज्रेको छ। तर भवनको जग समेत पूर्ण भएको छैन्। चैत्र ११ गतेसम्म भवन निर्माणको काम सम्पन्न गर्न सम्झौता भएपछि सांघुरो ठाउँ र पानीका कारण निर्माणको काम प्रभावित भएको निर्माण कम्पनीको दाबी छ। अहिले भवन निर्माणको काम थालिएकाले तोकिएको अवधिमा सम्पन्न हुने निर्माण व्यवसायी ललित कुंवरले बताए। 

सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान मेसिन अतिआवश्यक उपकरण हो। अहिले सेतीमा सिटी स्क्यान मेसिन नहुँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा सिटी स्क्यान सेवा लिन बाध्य छन्। सेतीमै सिटी स्क्यान सेवा सुचारु भएमा प्रदेशवासीलाई सहज हुने अपेक्षा गरिएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस