कृषि शहकारी संस्था व्यापारमुखी बन्दै (भिडियो सहित)
बजारीकरण र यान्त्रिकरणतर्फ वेवास्ता
कैलालीमा कृषि प्रयोजनका लागि खोलिएका सहकारी संस्थाहरु व्यापारमुखी बन्दै गएका छन् । सेवामुखी हुनुपर्ने कृषि सहकारी संस्थाहरु व्यापारमुखी बन्दा सीमित व्यक्तिका लागि कमाउ धन्दा बन्न थालेका छन् भने किसानहरुले लाभ लिन सकेका छैनन् । तर कृषि उत्पादित वस्तुको बजारीकरण र यान्त्रिकीकरण गर्नमा भने सहकारी संस्थाहरुको ध्यान गएको देखिदैन् । सहुलियत दरमा किसानहरुलाई आवश्यक पर्ने कृषि उपज, मलखाद विउविजन, विभिन्न किसिमका यन्त्र उपकरण तथा प्रविधि हस्तान्तरण, किसानले उत्पादन गरेका समाग्रीको बजारीकरण गर्ने उद्देश्य लिएर कैलालीका २ सय ७१ भन्दा बढि कृषि सहकारी संस्थाहरु खोलिएका छन् । ती मध्ये औलामा गन्न सकिने केही सहकारीले उद्देश्य अनुरुप काम गरेको भएपनि अधिकांश सहकारी नाफामुखी बनेको लामो समयसम्म सहकारी क्षेत्रमा काम गरेका प्रदेश ७ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका नायब सुब्बा जयराज भट्टले बताए ।
सहकारी ऐन अनुसार कृषि सहकारी संस्थाहरुले शेयर सदस्यहरुबाट रकम संकलन गरी कृषि क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ भने सोही रकमबाट किसानहलाई क्रण सहयोग, अनुदानको व्यवस्था, नयाँ नयाँ यन्त्र उपकरण र प्रविधि हस्तान्तरण गर्नुपर्ने हो । तर कृषि सहकारीहरुले शेयर सदस्यहरु बाहेकबाट समेत रकम संकलन गरेर कमाउ धन्दा बनाउदा किसानहरुले सहकारीबाट लाभ लिन सकेका छैनन् । धेरै कृषि सहकारीहरुले भने बाल बचत खाता, महिला बचत खाता, एक महिला बचत खाता खोलेरै गैर शेयर सदस्यहरुबाट रकम संकलन गर्दै आएका छन् । धनगढीको कृषक भलाई सहकारी संस्था पनि सोही सूचीमा पर्दछ । तर कृषक भलाई सहकारी संस्थाका अध्यक्ष टंक बास्कोटा भने कृषि कामसँगै अन्य कामहरु प्नि गरिरहेको वताउँछन् ।
केही सहकारीहरुले किसानलाई नयाँ नयाँ प्रविधि हस्तान्तरण गर्ने गरेपनि ती सहकारी सीमित व्यक्तिका कमाउ धन्दा बनेको आरोप लाग्ने गरेको छ । अझ धेरै सहकारीले त सोझा सोझा किसानहरुलाई ठगेका कुरा समेत बेला बखत चर्चामा आउँछ । ऐन विपरित काम गर्ने यस्ता कृषि सहकारी संस्थाहरुको नियमन गर्न तर्फ भने सरोकारवालाको ध्यान पुग्न सकेको छैन् । जिल्ला कृषि सहकारी संघ कैलालीका अध्यक्ष पदमराज रिजाल सहकारीलाई आफ्नो उद्देश्य अनुसार काम गर्न भनिरहेको दावी गर्छन् ।
कैलालीमा रहेका २ सय ७१ भन्दा बढी कृषि सहकारी संस्थाहरुले उद्देश्य अनुरुप काम गरेको भए कृषि क्षेत्रको विकासमा सहकारीको योगदान देखिने थियो । तर सहकारी दर्ता गरी क्रण तथा बचतको काम गरेर व्यापारीकरण गरिदा कृषिमा सहकारीको योगदान कुनै मुल्याङकन हुन सकेको छैन् भने किसानले समेत सहकारीबाट लाभ लिन सकेका छैनन् ।