कोरोना सँगै अर्को भाइरस ‘बर्ड फ्लू’को उच्च जोखिममा सुदूरपश्चिम !
धनगढीः धनगढीबाट ६ सय ५३ किलोमिटरको दूरीमा पर्ने हिमाञ्चल प्रदेशमा बर्ड फ्लुको संक्रमण देखिएपछि त्यसको जोखिम सुदूरपश्चिम प्रदेशमा देखिएको छ।
कुखुरा व्यवसायमा सुदूरपश्चिम प्रदेश आत्मनिर्भर बनेको बेला छिमेकी मुलुक भारतमा बर्ड फ्लू्को संक्रमण देखिएपछि सबैभन्दा बढी यहाँका कुखुरा व्यवसायी चिन्तित बनेका छन्।
कुखुरा पालक किसान संघ कैलालीका अध्यक्ष भुवन पाण्डेयले कोरोना कहरपछि शिथिल बनेको व्यवसाय लयमा ल्याउने प्रयास रहेको बेला फेरि छिमिकी मुलुकमा फैलिएको बर्डफ्लूको संक्रमणले व्यवसाय चौपट हुने चिन्ता बढेको बताए।
भारतसँग सीमा जोडिएको क्षेत्रमा निगरानी बढाउँनुपर्ने र कुुखुरा तथा अण्डाको आयातमा रोक लगाउनुपर्ने उनको भनाइ छ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बर्डफ्लू नियन्त्रणका लागि उच्च सतर्कता अपनाउने नीति लिएको छ।
बर्ड फ्लू एभियन इन्फ्लूएञ्जा भाइरसको छोटकरी रुप हो। एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवंम् वरिष्ठ पशु विकास अधिकृत डाक्टर हेमराज अवस्थीले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुर जिल्लाका सीमासँग जोडिएका क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए।
‘बर्डफ्लू भाइरसको मुख्य स्रोत भनेको हाँस, कुखुरालगायतका पन्छी हुने भएपनि संक्रमित पन्छीको सम्पर्कबाट मानिसमा समेत यो रोग सजिलै सर्ने सक्ने सम्भावना रहन्छ। हाँसहरुमा संक्रमणको उच्च जोखिम हुने भएकोले सर्वसाधारण र व्यवसायीलाई हाँस कुखुरा र अण्डाजन्य वस्तुको भारत र अन्य मुलुकबाट हुने आयातमा सरकारले रोक लगाएको छ’ डाक्टर अवस्थीले भने।
यसैबीच चिकित्सकहरुले बर्ड फ्लूबाट मानव समुदाय पनि प्रभावित हुने भएकोले उच्च सतर्कता अप्नाउन सुझाव दिएका छन्।
सेती प्रादेशिक अस्पताल धनगढीका वरिष्ठ कन्सलटेन्ट फिजिसीयन डाक्टर शेरबहादुर कमरले भने, ‘बर्डफ्लू विभिन्न किसिम हुन्छ। यदि मानिसमा बर्डफ्लूको संक्रमण भए यसले तीव्र गतिमा फोक्सोमा निमोनिया गर्ने र मानिसको ज्यान नै जोखिम पर्न सक्छ।’
सुदूरपश्चिमका तराईका २ जिल्ला कैलाली र कञ्चनपुर बर्डफ्लूको उच्च जोखिममा रहेको छ। डडेल्धुरा, डोटी र बैतडी मध्यम र दार्चुला, बझाङ, बाजुरा र अछाम कम जोखिममा रहेको आँकलन प्रदेश सरकारको रहेको डाक्टर अवस्थी बताउँछन्।
सुदूरपश्चिम प्रदेशमा कुखुरा व्यवसायमा ६ अर्बको लगानी रहेको व्यवसायीहरुले बताएका छन। व्यवसायमा झण्डै ४ हजार किसान आवद्ध रहेको बताइएको छ। केही वर्षयता कुखुराको मासुमा पूर्णरुपमा आत्मनिर्भर रहेको प्रदेशमा अण्डाकोे ६० प्रतिशत माग धान्न सकिएको बताइएको छ। अण्डामा मात्रै ४० प्रतिशत मागको पूर्ति प्रदेश बाहिरबाट हुने जनाइएको छ।
के हो बर्ड फ्लू भाइरस ?
पशु चिकित्सकका अनुसार बर्ड फ्लू एभियन इन्फ्लूएञ्जा भाइरसको छोटकरी रुप हो। एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो। बर्ड फ्लू कुखुरा र पक्षीहरूको अति सङ्क्रामक रोग हो। यो जतिबेला जहाँ पनि फैलन सक्छ। भने, बर्ड फ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने सरुवा रोग हो, र कहिलेकाहीँ सुँगुरमा पनि भेटिएको छ। यो रोग मानिसमा पनि सर्न सक्छ।