सुदूर नेपाललाई विश्वसँग जोड्दै

महामारीप्रति खेँलाचीः दिनहुँको प्रदर्शनले स्वास्थ्य मापदण्ड बिर्सायो, संक्रमण गाउँ–गाउँमा !

२०७७ पुष २५, ०४:२८ नारायण अवस्थी

धनगढीः कोरोना भाइरसको महामारी नियन्त्रणमा नआउँदै सरकारले लागु गरेका स्वास्थ्य मापदण्ड उल्लघंनको क्रम बढेको छ।

सरकारको नेतृत्व गरेको तथा अन्य जिम्मेवार राजनीतिक दलबाटै स्वास्थ्य मापदण्डको पालना नहुँदा कोरोना संक्रमण अझै बढ्ने सम्भावना बढेहको हो।

पछिल्ला दिनहरुमा सरकारको पक्ष र विपक्षमा भइरहेका आन्दोलन, सभा सम्मेलनमा स्वास्थ्य मापदण्डको ख्यालै नराखी गरिने भेला, सभा र जुलुसले कोरोना गाउँ–गाउँसम्म फैलिने खतरा बढेको स्वास्थ्य क्षेत्रका विज्ञले औल्याएका छन्।

वरिष्ठ कन्सलटेन्ट फिजिसियन प्राध्यापक डाक्टर शुभेषराज कायस्थ भने, ‘धेरै कुरा खुकुलो भएपनि भौतिक दूरी कायम गर्नुपर्ने। भेला र जमघट नगर्ने भन्ने नियम यथावत छ तर सबै पक्षबाट स्वास्थ्य सुरक्षाका मापदण्डको पालना भएको छैन। यसले संक्रणको जोखिम बढेको छ।’ 

अहिले नै कोरोना महामारी कम नभइसकेकोले सजक हुनुपर्ने वरिष्ठ कन्सलटेन्ट फिजिसियन प्राध्यापक डाक्टर कायस्थको भनाइ छ।

त्यस्तै जनस्वास्थ्यविद् डाक्टर लक्ष्मीराज जोशीले कोरोना भाइरस महामारी फैलिन थालेपछि नेपाल सरकारले बिभिन्न किसिमका गतिविधिमा प्रतिबन्ध लगाएको भएपनि हाल औपचारिक रुपमा खुला गर्न नपाउँदै खुला गरिएको जस्तो देखिएको बताउँछन्।

स्वास्थ्य मन्त्रालयले कम्तीमा २ मिटरको दूरी कायम राख्नुपर्ने र २५ जनाभन्दा धेरै मानिसहरु एक ठाउँमा जमघट नहुने भन्ने नियम कायमै रहेको बताएपनि पछिल्ला दिनहरुमा शहरदेखि गाउँसम्ममा सरकारको पक्ष र विरोधमा भइरहेका आन्दोलन एवं सभा, सम्मेलन र जुलुस प्रदर्शनले कारोना गाउँ–गाउँ र घर–घरमा पुग्ने चिन्ता गरिन थालिएको छ। 

अझै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २ हजार ५सय भन्दा अधिक रहेको बताइएको छ।

‘दैनिक रुपमा समेत कोरोना भाइरसको संक्रमण हुने क्रम रोकिएको छैन भने दैनिक मृत्यु हुने क्रम समेत नरोकिएको बेला हरेक व्यक्तिले स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाउन सचेत हुनुपर्छ।’, प्रध्यापक डाक्टर कायस्थले थपे।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस