बैतडीमा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि
बैतडी: बैतडीमा कोरोना संक्रमितहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने र शक्ति दिने आयुर्वेदिक औषधि दिन थालिएको छ। जिल्लाको पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका कोरोना संक्रमितहरुलाई औषधि वितरण कार्य सुरु गरिएको हो।
पाटन प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गत रहेको आयुर्वेद शाखाले च्यवनप्रास, यष्टिमधु, क्रिकुट, गिलोय लगायतका रोगप्रतिरोधात्मक क्षमता बढाउने र शक्तिबद्र्धक औषधिहरु वितरण गरिएको केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए।
प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रबाट प्राप्त भएका औषधिहरु कोरोना संक्रमितहरुलाई प्रदान गर्ने कार्य भइरहेको उनले बताए।
यस्तै दशरथचन्द नगरपालिकाले पनि नगर क्षेत्रका संक्रमितहरुलाई आयुर्वेदिक औषधि दिन थालेको नगरपालिकाको आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले जानकारी दिए। आयुर्वेद औषधालय शाहीलेक र आयुर्वेद औषधालय मुस्याचोरबाट शक्तिबद्र्धक औषधिहरु वितरण कार्य शुरु भएको उनले बताए।
नगरपालिकाको आयुर्वेद स्वास्थ्य अन्तर्गत छुट्याएको बजेटबाट औषधि खरीद गरेर वितरण भईरहेको उनले बताए।