सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी चक्रपथमा टालटुलः मनेहरा मुक्तकमैया शिविरको ४ सय मिटर छोडेर कालोपत्रे

धनगढी मनेहरा मुक्तकमैया शिविरस्थित कालोपत्रे गर्न छोडिएको सडक
धनगढी मनेहरा मुक्तकमैया शिविरस्थित कालोपत्रे गर्न छोडिएको सडक
२०७७ पुष २०, ०९:२२ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाको चक्रपथ अन्तरगत मनेहरा–जुगेडा खण्डको मुक्तकमैया शिविरको ४ सय मिटर सडक छोडेर कालोपत्रे गरिएको २ पूरा भएको छ। 

४ सय मिटर सडक खण्ड बाहेकका सडक चिट्टिक देखिनुका साथै आवागमन निकै सहज छ। तर बीचको ४ सय मिटरमा कालोपत्रे नगरिदा कुरुप देखिनुका साथै आवातजावतमा निकै सास्ती हुने गरेको स्थानीयको गुनासो छ। 

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सघन सहरी विकास कार्यक्रम अन्तरगत निर्माण गरेको सो सडकको ४ सय मिटर खण्डमा कालोपत्रे नगरेपछि आवातजावतमा सास्ती खेप्नुपरेको स्थानीय मानबहादुर चौधरीको गुनासो छ। सडक दुर्घटना समेत हुँदै आएको चौधरीको भनाइ छ। 

धनगढी उपमहानगर र संघीय अयोजना कार्यान्वयन इकाइ धनगढीको वेवास्ताले सडक कालोपत्रे हालसम्म नहुँदा हिउँदमा धुलो र वर्षातमा हिलो खप्नुपर्ने बाध्यता स्थानीयको छ। 

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइले भने विगतमा अर्को निकायले त्यो क्षेत्रको योजना काार्यन्वयन गरेकाले कालोपत्रे नभएको जिकिर गरेको छ। 

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइले २ वर्षअघि हुलाकी सडक जिरो प्वाइन्ट रहेको मनेहरा मुक्तकमैया बस्ती–डी गाउँ नाम दिएर झण्डै साढे ३ किलोमिटरको मनहेरा जुगेडा सडक कालोपत्रे गरेको थियो। 

तर सोही सडकखण्डको ४ सय किलोमिटर क्षेत्रमा अहिले पनि कच्ची नै छ। सवारी चाप उच्च भएकोले आवातजावतमा समस्या हुनुको साथै सवारी दुर्घटनाको समेत जोखिम रहेको जुगेडाका स्थानीय खड्कराज भट्ट बताउँछन्।

जुगेडाका स्थानीयले धनगढी उपमहानगरपालिका, संघीय आयोजना कार्यान्वयन इकाइ, प्रदेश र संघीय सांसदहरुलाई पटकपटक सडक बनाउन अनुरोध गर्दा समेत वेवास्ता हुँदै आएको भट्टको भनाइ छ।

वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीले भने वडाको बजेट सो सडकमा नपरेको तर कालोपत्रेका लागि आफूले पहल भने गरिरहेको बताए।

आयोजना कार्यान्वयन इकाइ धनगढीका इन्जिनीयर श्यामचन्द्र बुढाथोकीले चालु आर्थिक वर्षमा सो ४ सय मिटरमा संघीय कार्यालयले कालोपत्रे गर्ने गरि तयारी भइरहेको जनाए।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस