डडेल्धुरामा बढ्दैछ सम्बन्धविच्छेद, ६ महिनामा ३७ मुद्दा दर्ता
डडेल्धुराः डडेल्धुरामा सम्बन्ध विच्छेदका घटनामा बृद्धि भइरहेको छ। जिल्ला अदालतको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्।
पछिल्लो ६ महिनायता अदालतमा सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका ३७ वटा रहेका छन्। ३७ मुद्धामध्ये २० वटा फछ्र्यौट भएका र १७ वटा बाँकी रहेको जिल्ला अदालत डडेल्धुराका श्रेस्तेदार रामु शर्माले बताए। उनले सम्बन्ध विच्छेदका घटना वृद्धि हुनुमा जिल्लामा बालविवाह गर्नेको संख्या बढ्दै जानु र महिलाहरू सचेत हुनु रहेको बताए।
पुरुष र महिलाबीच सम्बन्धविच्छेदका लागि सहमति भए एक महिनाभित्रमा मुद्दा किनारा लाग्ने छ भने पछिल्लो ऐनले सहमति कायम हुन नसक्दा १ वर्षसम्म मुद्दा फैसला नहुने व्यवस्था गरेको छ।
यस्तै चालु आर्थिक वर्षको अहिलेसम्म जबरजस्ती करिणी तथा उद्योग मुद्दा १७ परेका छन्। जसमध्ये १६ फछ्र्यौट भइसकेका छन भने एक मुद्दा फछ्र्यौट हुन बाँकी छ।
कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका १० मुद्दा छन्। पाँच फछ्र्यौट भइसकेका छन्। पाँच बाँकी छन्। वन सम्बन्धिका ९ मुद्दामध्ये ३ वटा मुद्दा मात्रै फछ्र्यौट भएका छन्। जग्गा खिचोलासम्बन्धी ६ वटा मुद्दामध्ये सबै मुद्दा फछ्र्यौट भइसकेका छन्।
चोरीका मुद्दा पाँच दर्ता भएकोमा ती सबै फछ्र्यौट हुन बाँकी छन्। यस्तै चेक अनादरका मुद्दा चार छन्। ती चार फछ्र्यौट भइसकेका छन्।
लेनदेन र कुटपिटका मुद्दा पाँच–पाँच गरी १० मुद्दा अदालत पुगेका थिए। यीमध्ये चार–चार गरी आठ मुद्दा फर्छाैट भएको अदालतले जनाएको छ।