मोटरसाइकल दुर्घटनामा घाइते भएका नेकपा बैतडीका अध्यक्ष पालका छोराको हेलिकप्टरमार्फत उद्वार
बैतडी: बैतडीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका युवकको हेलिकप्टरमार्फत उद्वार भएको छ।
आइतबार बिहान डिलाशैनी गाउँपालिका–३ झरनामा भएको मोटरसाइकल दुर्घटनामा परी नेकपाका केन्द्रिय सदस्य तथा बैतडी अध्यक्ष सुरेन्द्र पालका २६ वर्षीय छोरा योगेश पाल घाइते भएका थिए।
डिलाशैनी गाउँपालिका–३ पंसेराबाट गन्नातर्फ गइरहेका बेला पालले चलाएको बा८०प ६५०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ। पाल सडकबाट २०० मिटर तल खसेको अवस्थामा फेला परेका थिए।
पाललाई प्रहरी र स्थानीय उद्वार गरी गोकुलेश्वर अस्पतालमा पुगाएका थिए। गोकुलेश्वरमा उपचार सम्भव नभएपछि माउन्टेन एयरको हेलिकप्टरमार्फत उनलाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।