मुक्तिको अभिलाषा पर्खिदैछन् धनगढीका क्यान्सर पीडित ‘दानवीर’
धनगढीः डोटी जिल्लाको निरौलीमा पिता कुञ्जमणि भण्डारी र आमा इन्द्रादेवीका काइला सन्तानको रुपमा जन्मिएका वद्रीनाथ भण्डारी अहिले ९६ वर्षमा पाइला टेकेका छन्। उनको जन्म वि.स् १९८३ मा भएको हो।
धनगढीमा दानवीरको उपमा पाएका भण्डारी केही महिनादेखि भने अस्वस्थ छन्। शताब्दी नजिक पुग्नै लागेका भण्डारीका जीवनका भोगाइहरु प्रेरणादायी छन्।
भण्डारीले आफ्नो जीवनको सुरुवाती पाइलाको स्मरण गर्दैै भने, ‘म भुई मान्छे हुँ। बाल्यकाल गरिबी र अभावमा बित्यो। खेतीपातीबाटै थोरै आम्दानी गरेर यहाँसम्म आएको हुँ।’ उनी आफ्नो जीवन भोगाइप्रति निकै नै सुखानुभुुती पोख्छन्।
श्रीमद्भागवत र गीताका प्रसंग कोट्याउदै भण्डारी मानव जीवन पाउनु दूर्लभ भएको ठानछन्। ‘मान्छे भएर जन्मनुको औचित्य तब मात्रै पूरा हुन्छ जब परोपकारमा जीवन समर्पित हुन्छ’ भन्ने कुराले आफ्नो जीवन निर्देशित भएको उनको बुझाइ छ।
भण्डारीको आध्यात्मिक चिन्तन
जीवन को उद्देस्य के हो ? भन्ने प्रसंगमा भण्डारीले भने, ‘धर्म गर्नु, पाप कर्म नगर्नु, सुकर्मबाट धन आर्जन गर्नु, धनको सही सदुपयोग गर्नु, परोपकार गर्नु र स्वर्गका मार्ग सुगम बनाउँन मन, वचन र कर्मले सत्मार्गमा लाग्नु नै मानव जीवनको परम लक्ष्य हो।’
धेरै पढे लेखेको व्यक्ति नभएकोले जीवनलाई सरल ढंगले बुझेको बताउने भण्डारी स्वास्थ्यलाई प्रधान सम्पति ठानेको बताउँछन्। उनले भने, ‘शरीर अस्वस्थ भए केही गर्न र सोच्न सकिदैन तसर्थ स्वास्थ्यलाई ठीक राख्न उचित सावधानी अपनाउनु पर्छ। आहार, विहार, भोजन, व्यायाम र चिन्तनमा जहिले पनि ध्यान दिनु पर्छ।’
मानिसले परिवार, समाज र राष्ट्रको समुन्नतिको लागि कर्म गनुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले आफूले बाँचेको, भोगेको र देखेको जीवनबाट आफू तृप्त रहेको बताएका छन्।
डोटी–कैलाली यात्रा
वि.स. २०१९ मा डोटीको निरौलीबाट कैलालीको उर्मामा बसाइ सरेका भण्डारीको व्यक्तित्व बहुआयामिक रहेको छ। तराईमा बसाइ सर्नु पूर्व उनले डोटीमा ३ वर्ष शिक्षण पेशा गरेका थिए।
मासिक ४५ रुपैयाँ वेतनका हिसावले शिक्षणबाट कमाइ गरेको स्मरण गर्दै भण्डारीले भने, ‘तीन वर्षपछि शिक्षण पेशा त्यागेर तराई झरेपछि शिक्षण गर्दाको वेतनको १४ सय रुपैयाँ बचत थियो। त्यहीँ पैसाबाट ७ विघा जमिन खरिद गरेको थिए। त्यो भन्दा बाहेक जमिन परिवारको नाममा पहिला पनि रहेको थियो।’
उर्मा बसाइको क्रमसँगै वि.स. २०२२ सालमा पहिलो पटक उर्मा गाउँ पञ्चायतको प्रधानपञ्च भए्। ३ कार्यकाल प्रधानपञ्चको निर्वाचन जितेका भण्डारीले भने, ‘पञ्चायत कालमा बजेट आउदैनथ्यो। जनश्रमदानबाट नै बाटो, कुलो जस्ता कामहरु सम्पन्न गरिन्थ्यो। पहुँच भएका प्रधानहरुले भने अलि बजेट ल्याउथे।’
पञ्चायती राजनीतिपछि भने भण्डारी वि.स. २०२५ सालमा धनगढी बसाइ सरेका हुुनु। त्यसताका जमिनदारीबाट आउने आय नै परिवारको मुख्यआम्दानी रहेको रहेको र त्यसैबाट परिवारको लालनपालन राम्रैसँग गर्न सकेको बताउँछन्।
दानवीरको उपमा
जमिनदारी र सानोतिनो उद्यमशीलताबाट आफूले पुग्दो धन आर्जन गरेको भण्डारीको भनाइ छ। छोराछोरीलाई हुर्काइ सकेपछि आफूसँग भएको धनले समाज सेवा गर्नु पर्छ भन्ने विचार पलाएको बताउने भण्डारीले दर्जनौँ धार्मिक संघ संस्थालाई सहयोग गरेका छन्।
६ सन्तानका पिता भण्डारीले आफ्नी जीवन सँगिनीलाई भने वि.स. २०६९ सालमा नै गुमाउन पुगेका रहेछन्। जीवन सँगिनीको परलोक प्रस्थानपछि अझ बढी समाज सेवामा आफू केन्द्रित भएको भण्डारी बताउँछन्। उनी हालसम्म लाखौं धनराशी विभिन्न संघ संस्थालाई दान गरिसकेका छन्। भने दर्जनौं ख्याति प्राप्त संघ संस्थाको आजीवन सदस्य रहेका छन्।
समाजका लागि जे ठीक हुन्छ, त्यही गर्न पाएकोमा आफ्नो जीवन धन्य रहेको निष्कर्ष भण्डारीको छ। फलतः उनी धनगढीमा आफ्नो सुपरिचित समाजसेवी तथा दानवीर, लेखक तथा कविको रुपमा पहिचान बनाएका छन्।
‘शरीर अस्वस्थ भए केही गर्न र सोच्न सकिदैन तसर्थ स्वास्थ्यलाई ठीक राख्न उचित सावधानी अपनाउनु पर्छ। आहार, विहार, भोजन, व्यायाम र चिन्तनमा जहिले पनि ध्यान दिनु पर्छ।’
‘वद्रीकृष्ण वाङमय पुरस्कार’ स्थापना
साहित्यमा औधी रुची राख्ने उनी ‘उज्यालो चन्द्रमा’ नामको कृषि प्रकाशित गरेका छन्। भने साहित्यमा सुदूरपश्चिमकै ठूलो धनराशिको पुरस्कार मानिने ‘वद्रीकृष्ण वाङमय पुरस्कार’ स्थापना गरेका छन्। आफ्नो र आफ्नी पत्नीको नाममा उनले ११ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। सो अक्षयकोषमार्फत सुदूरपश्चिम साहित्य समाज कैलालीले प्रत्येक वर्ष नेपाली साहित्यमा योगदान पुर्याउने स्रष्तालाई सम्मानित गर्दै आएको छ।
धर्म, ईश्वर पूर्व जन्म, स्वर्ग, नर्क र मोक्षमा विश्वास राख्ने भण्डारी ४ पाँच महिनायता अस्वस्थ छन्। चौथो चरणको क्यान्सरसँग लडिरहेका भण्डारीले आफूमा मोक्षको अभिलासा बाहेक अब केही नरहेको बताएका छन।
उनी भन्छन्,‘अब जीवनमा मुक्तिको अभिलाषा बाहेक अन्य चाहना छैन।’