हाटबजार क्षेत्र अतिक्रमणको चपेटामा(भिडियाे रिर्पाेट सहित)
अतिक्रमण हटाउन विभिन्न मन्त्रालय सहित अख्तियारले दिएको निर्देशनको उप–महानगरपालिकाद्वारा अवज्ञा
अतिक्रमणको चपेटामा परेको धनगढीको त्रिनगर कृषि उपज हाटबजार क्षेत्रको अतिक्रमित जमिन खाली गराउन धनगढी उप–महानगरपालिका उदासिन देखिएको छ । धनगढी उप–महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको निर्देशनको अटेरी गरेको हो ।
धनगढीको त्रिनगर माध्यामिक विद्यालयको नाममा रहेको त्रिनगर कृषि उपज हाटबजारको अतिक्रमित जमिन खाली गर्न धनगढी उपमहानगरपालिकालाई निर्देशन दिईएको थियो । अतिक्रमित ६ कट्टा बढी जमिन खाली गर्न निर्देशन दिएको छ तर कार्यन्वयन गर्न उपमहानगरपालिका उदासिन देखिएको हो ।
त्रिनगर माध्यामिक विद्ययालयको नाममा रहेको त्रिनगर कृषि उपज हाटबजारको अतिक्रमित जमिन खाली गर्न धनगढी उपमहानगरपालिकाले चासो नदेखाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २०७३ भाद्र १३ गते जमिन खाली गर्न निर्देशनको पत्र पठाएको दुई बर्ष भएको छ तर निर्देशनको कार्यान्वयन भएको छैन । गृह मन्त्रालयले समेत पटक–पटक निर्देशन गरेपनि कार्यान्वयन भएको छैन । गृह मन्त्रालयले पुनः २०७५ बैशाख १६ गते निर्णय कार्यान्वयन गर्न निर्देशन सहितको पत्र जिल्ला प्रशासन कार्यालय कैलालीलाई पठायो । गृह मन्त्रालयको निर्देशन जिल्ला प्रशासन कार्यालयले धनगढी उपमहानगरपालिकालाइ २०७५ जेठ १६ गते बोदार्थ जानकारी गराएको छ । तर कार्यन्वयनको प्रक्रिया समेत अगाडी बढेको छैन । जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा ईन्द्र जोशीले पटक–पटक उप–महानगरपालिकालाई आग्रह गर्दा समेत आनाकानी गरीरहेको बताए । उनले भने, ‘२०७४ साल १० महिना २९ गते संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले उप–महानगरपालिकालाई पत्र पढाएको थियो । हामीलाई बोदार्थ पत्र आयो । पहलको बिषयमा मैले उप–महागरपालिकालाई सोधीरहेको छु, एकुरेट जवाफ आएको छैन । सुरक्षाकालागि समेत सहयोग गर्छाै भनेका छौ । पत्र अख्तियारले निर्णय कार्यान्वयन गर भनेर पठाएको हो सुरुमा । अख्तियारले पुनःनिर्णय कार्यान्वयन नभएपछि गृह मन्त्रालयलाई पत्र पठायो । गृह मन्त्रालयले हामीलाई जवाफ मागिरहेको छ । यता काम भएको छैन ।ʼ
त्रिनगर माध्यामिक विद्यालयको नाममा रहेको ६ कट्टा बढी जमिन अतिक्रमित छ । कृषि उपज हाटबजारका लागि १८ कट्टा ११ धुर त्रिनगर माध्यामिक विद्ययालयले भाडामा दिएको छ । भाडामा दिएको जमिन १५ स्थानमा अतिक्रमण भएको छ । जिल्ला नापी कार्यालयको प्रतिवेदन समेत आएको, सुरक्षाका लागि पुर्ण सहयोग मिलेर समेत उप–महानगरपालिकाले अतिक्रमित जमिन खाली गर्न प्रक्रिया समेत अगाडी बढाएको छैन । अतिक्रमण जमिन खाली गर्न बोर्दाथ पत्र आएको त्रिनगर माध्यामिक विद्यालयका प्राधानाध्यापक भुपाल सिह खड्काले बताए । ‘त्रिनगर माध्यामिक विद्ययालयको नाममा रहेको त्रिनगर हाटबजारको अतिक्रमित जमिन खाली गराउन पत्र आएको हो, उनले भने । उप–माहानगरपालिकाले गरेको प्रक्रियाका बारेमा जानकारी मागेको थिए । केही भएको छैन । नगरपालिकाको गरेको कामको निगरानी गरीरहेका छौ । पुनः हामी मेयरलाई भेट्छौ । यस्को बिषयमा छलफल गर्छौʼ
त्रिनगर माध्यामिक विद्ययालयको नाममा रहेको कृषि उपज हाटबजारको जमिन अतिक्रमण भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेको थियो । निवेदनको सुनुवाई गर्दै अख्तियारले जमिन अतिक्रमण भएको भन्दै खाली गर्न निर्देशन दिएको हो । केन्द्रीय स्तरबाट आएको निर्देशनको समेत उप–महानगरपालिकाले कार्यान्वयन गर्न आनाकानी गरिरहेको हो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्त सुनार भने आफ्नो गल्ती लुकाउनतिर नै लागिरहनुभएको छ । उनले भने, ‘हामी जमिन खाली गराउने प्रक्रियामा छौ । एक चरण हामीले मौखिक रुपमा भनेका छौ, सार्वजनिक जमिन खाली गरीदिनुहोस । सार्वजनिक जमिनमा त्यसरी बस्नु भएन, नागरिकको पनि सार्वजनिक जमिन खालि गर्नु जिमेवारी पनि हो । कतिले अतिक्रमण गरेका छन भन्ने प्रमाण तयार छ । सहज ढंगबाट हामी जमिन खाली गराउछौ ।ʼ